सामुदायिक विद्यालयमा शिशु कक्षाबाटै अंग्रेजीमा पढाइ

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयले शिशु कक्षाबाटै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ ।
श्रीपुरमा विद्यार्थी उमेर समूहका विद्यार्थीले गठन गरेको बाल ज्ञान क्लबले पाठ्यपुस्तक र स्वयम् सेवकरुपमा विद्यार्थी पढाउन सहयोग गर्ने भएपछि विद्यालयले शिशु कक्षाबाट अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको हो ।

क्लबका सदस्यहरुले राष्ट्रिय आधारभूत विद्यालय श्रीपुरलाई नमूना विद्यालय बनाउन र शिशु कक्षादेखि नै अंग्रेजी माध्यमबाट पठपाठन गराउने प्रतिवद्धता गर्दै विद्यार्थी भर्ना अभियान चलाएको छ । भर्ना अभियान सञ्चालनपछि शिशु कक्षामा मात्रै २५ जनाभन्दा बढी विद्यार्थी भर्ना भएका छन् । उहाँहरु शिक्षक– शिक्षिकहरुलाई समेत समेटर विद्यार्थी भर्ना अभियान जारी राख्नुभएको छ ।

बाल ज्ञान क्लबका संस्थापक अध्यक्ष महेश महतोले संस्थागत विद्यालयजस्तै नर्सर, एलकेजी र युकेजी कक्षा सञ्चालन गरी अंग्रेजी माध्यमबाट पठनपाठन गराउनका लागि सहजीकरण गरिरहेको बताउनुभयो । विद्यालयमा सरकारी स्तरबाटै बालविकास कक्षादेखि पाँच कक्षासम्म पठनपाठन भइरहेको छ ।

विद्यालयमा एक कक्षाबाट अंग्रेजी विषयको पढाइ भइरहेको छ । अबदेखि नर्सरी, एलकेजी र युकेजी कक्षा सञ्चालन गर्न पाठ्यपुस्त लगायत अन्य आधारभूत सामग्री उपलब्ध गराउन वडा कार्यालय र अन्य निकायसँग चन्दा तथा सहयोग जुटाउन सहजीकरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।


स–साना बालबालिकालाई सुविधा हुने तथा अभिभावकलाई पनि खर्चको भार थेग्नु नपरोस् भनेर यो अभियान चलाएको अध्यक्ष महतोले बताउनुभयो । उहाँले घर पायक पर्ने ठाउँमै संस्थागत विद्यालयको जस्तै पढाई हुने भएपछि विद्यार्थी र अभिभावकलाई फाइदा पुग्ने जानकारी दिनुभयो ।

राष्ट्रिय आधारभूत विद्यालय श्रीपुरमा यसवर्ष अहिलेसम्म ३२ जना नयाँ विद्यार्थी भर्ना भएको छ । जसमध्ये २५ जना विद्यार्थी नर्सरी कक्षामा भर्ना भएका छन् । नर्सरी र एककेजी कक्षामा भर्ना भएका विद्यार्थीलाई पठनपाठन गराउन जनशक्ति प्रयाप्त रहेको विद्यालयका प्रधानाध्यापक टिकाप्रसाद गौलतमले बताउनुभयो ।

विद्यार्थीलाई थप गुणस्तरी शिक्षा प्रदान गर्न तथा शिक्षण सिकाइमा सुधार ल्याउन नगरपालिकामा पहल थालिएको उहाँले जानकारी दिनुभयो ।
यता मिथिला नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख महेन्द्र महतोले पदभार ग्रहण गरेकै दिन नगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा कक्षा एकदेखि १० सम्मका विद्यार्थीलाई अंग्रेजी माध्यमबाट पठनपाठन गराउने घोषणा गर्नुभएको छ ।

यसको कार्यन्वयन भने असार– साउनबाट गरिने छ । पालिकाको आर्थिक वर्ष ०७९÷०८० को बजेटबाट बजेट विनियोजन गरी थप जनशिक्त, पाठ्यपुस्तक र अन्य आधारभूत आवश्यकता पुर्ति गरी नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने नगर प्रमुख महतोले बताउनुभयो ।