अपाङ्ग दम्पतीलाई भोक र दुधे बालक स्याहार्ने चिन्ता

|

विजयकुमार साह
ढल्केवर, धनुषा

धनुषाको सबैला नगरपालिका–१२, उतिमपुरका एक अपाङ्ग दम्पतीलाई भोक र दुधे बालक स्याहार्ने चिन्ताले पिरोलिएका छन् ।
४४ वर्षिय इन्दल गडेरी र २५ वर्षीया कविताकुमारी पाल अपाङ्ग दम्पती हुन् । इन्दलको खुट्टा अपाङ्ग छ भने कविता आँखाले देख्नुहुन्न । उहाँहरुको तीन महिनाको दुधे बालक छन् ।

अपाङ्ग दम्पतीको घरमा चुलो छ । पकाउने भाँडाकुँडा छन् तर मुस्किलले कहिले काँही खाना पाक्छ । कसैले खाद्यन्न सहयोग गरे चुलो बल्छ नभए भोको भेट निदाउनु पर्ने बाध्यता उहाँहरुको छ ।

खाद्यन्न अभावले एक छाक मात्र खाएर भोक टार्ने बानी बसालिसकेका अपाङ्ग दम्पतीले दुधे बालकलाई पनि भोकै राख्ने गर्नुभएको छ ।
मैले पेटभरी खान पाए पो बालकलाई दुध पुग्छ, दुधे बालकको आमा कविताले भन्नुभयो । बच्चालाई पेटभरी दुध पुग्दैन । दुध नपुगेकै कारण बच्चा कुपोषित हुँदै गएको छ । जन्मेदेखि बच्चालाई कहिल्यै तेल मालिससमेत गर्न नसकेको उहाँले सुनाउनुभयो ।

हामी काम गर्न सक्दैनौं । माग्न पनि जाँदैनौं । श्रीमान काम गर्छु भन्दा पनि अपाङ्ग भएकै कारण कसैले काममा राख्दैनन् । जसले गर्दा घरको आर्थिक अवस्था दयनीय बनेको छ । तीन महिनाअघि सबैलाको एक समाजिक संस्थाले एक बोरा चामल दिएको थियो त्यो चामल पनि सकिएपछि अहिले खानपिनको ठूलै समस्या छ, कविताले भन्नुभयो ।

माइती पक्षले भोग चलन गर्दै आएको ऐलानी जग्गाबाट पाँच धुर जग्गा धर बसोबासका निम्ति कवितालाई दिइएको छ । सोही जग्गामा सानो झोपडी बनाएर अपाङ्ग दम्पती बस्दै आउनु भएको छ । यि अपाङ्ग दम्पतीको तीन जना सन्तान छन् । छ वर्षकी जेठी छोरी, तीन वर्षको छोरा र तीन महिनाको दुधे बालक ।

जन्मदै अन्धोपनको सिकार हुनु भएकी कविताको विवाह सात वर्षअघि सबैला नगरपालिका–१ मुसहर टोल बस्ने अपाङ्ग इन्दलसँग भएको थियो । ससुरा पक्ष सम्पती बिहिन रहेको र माइती पक्षको पनि आर्थिक अवस्था कमजोर रहेका कारण आफन्तहरुबाट पनि कुनै किसिमको सहयोग पाइरहनु भएको छैन ।

अपाङ्गताको हैसियतले स्थानीय तहबाट पाउनु पर्ने सेवासुविधा समेत पाउन भएको छैन् । अपाङ्गता कार्ड नबेका कारण उहाँहरु स्थानीय तहबाट पाउनु पर्ने सेवासुविधाबाट बञ्चित हुनुभएको छ । गोरखापत्र दैनिकबाट