बगरमा तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै भूमिहीन किसान

|

विजयकुमार साह
ढल्केवर, धनुषा

कोरोना प्रभावित र वैदेशिक रोजगारबाट फर्किएका धनुषाको मिथिला नगरपालिका ८ कुसुम विछौना गाउँका भूमिहीन किसानहरुका लागि बगरमा गरिएको हरियो तरकारी खेती जीविकोपार्जनका निकै सहयोगी भएको छ ।

स्थानीय सामुदायिक सुधार केन्द्र (सीआईसी) को पहलमा स्थानीय तह र यूएनडिपीको सहयोगमा नदी उकास जग्गाको सो बगरमा हरियो तरकारी खेती गरेर ६५ किसान परिवारहरु महिनाको ९÷१० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन ।

बालुवा गिटी मिश्रित सो जग्गालाई खेती योग्य बनाएर लौका, सिम, बोरी, भ्यान्टा, भिँडी, घेरौला लगायतका तरकारी खेती गरी बजारमा बेचेर आ आफ्नो आम्दानी गरिरहेको आबद्ध किसानहरु बताउँछन । उनीहरुले सो जग्गामा मेहनतको भरमा दैनिक २५÷३० किलोसम्म सिमी, बोरी, भिँडी, घेरौला सहित ३ फिटसम्मको लौका उब्जाएर बजारमा बेचेर आ आफ्नो जिविकोपार्जन गरिरहेका छन ।

किसान चन्देश्वर महतोले खुशी व्यक्त गर्दै भने आफ्नो जग्गा नभएपछि पहिला अरुको खेतमा काम गर्थे तर अब आफ्नै खेत पाएर तरकारी उब्जाएर दैनिक ३÷४ सय रुपैयाँ आम्दानीले परिवार धान्न मद्दत हुँदा निकै खुशी छु । तर यसलाई सम्बन्धित निकायले निरन्तरता दिई हामी जस्ता अरु प्रभावित किसानहरुलाई समेटिए अझै राम्रो हुन्छ ।

त्यस्तै निलम देवी यादव भनिन् –’४ जना बच्चा सहित हाम्रो ६ जनाको परिवार छ, पहिला परिवार पाल्न निकै समस्या हुन्थ्यो, अरुको खेतमा काम गर्दा खाना पनि पुग्दैनथ्यो । तर बगरमा हरियो तरकारी उब्जाउन थालेपछि महिनाको १० हजार रुपैया जति आम्दानी हुँदा परिवार चलाउन निकै सहयोग पुगेको छ ।’

निलम जस्तै आबद्ध किसान लक्ष्मीनिया देवी भन्छिन ’पहिला त हामी बजारबाट तरकारी किनेर बेच्थे भने थोरै आम्दानी हुन्थ्यो, कहिलेकाही घाटा समेत लाग्ने गथ्र्यो । तर आफ्नै मेहनतले तरकारी उब्जाएर बेच्दा त १५÷१६ रुपैया सम्म आम्दानी हुने गरेको ।’
कोरोना संक्रमणको बेला रोजगार गुमाउंदा भोग्नु परेको पीडा सुनाउँदै कतारबाट फर्केका नवलकिशोर यादवले पछिल्लो वर्ष विदेशबाट आउँदा कोरोना संक्रमणले गर्दा काम नपाउँदा परिवार चलाउँदा निकै समस्या भोग्नु प¥यो, न त कसैले काम दिन मानिरहेका थिए न सापटी पैँचो, जेनतेन गरेर गुजारा गरिरहेका थिए ।

यसैबीचमा बगरमा तरकारी खेतीको समूहमा आबद्ध भएपछि नदी उकास जग्गाको बालुवा गिटी सफा गरी खेती योग्य बनाएर निशुल्क जग्गा, बिउ विजन, मलखाद्य र तालिम प्राप्त गरी हरियो तरकारी उब्जाएर महिनाको १०÷१२ हजार रुपैया आम्दानी गर्दा हाम्रो परिवारको जीविकोपार्जनका लागि त वरदान नै हो ।

सीआईसीका कृषि जेटीए मुकेश सिंह भन्छन पहिला त यो जग्गा चुरेबाट बगेर आएका बालुवा गिटीले पुरिएको थियो, स्थानीय तहबाट जग्गा लिएर किसानहरुको समूह बनाई बालुवा गिटी हटाएर वनबाट खेती योग्य माटो हालेर विषादी रहित अधिकभन्दा अधिक कसरी उत्पादन गर्न सकिन्छ भन्ने प्राविधिक तालिम दिई तरकारी खेती गराइरहेको छु ।

उनले भने यहाँ सकेसम्म अर्गानिक मल नै प्रयोग गराउने गरेको छु । अत्यधिक किरा लागि सकेको अवस्थामा मात्रै विषादी मलखाद्य छिर्काउन लगाउँछौ । यहाँबाट उत्पादित तरकारी बजारमा अन्य तरकारीभन्दा कम विषादी रहेकोले विक्री भन्दा हुँदा किसानहरु चाहिएको जति उब्जाउन सकिरहेका छैनन ।
स्थानीय तह मातहत कामै नलाग्ने रहेको सो पर्ती जग्गामा नदी उकास जग्गामा कृषि वन कार्यक्रमक बगर खेती अन्तर्गत साढे ६ विघा जग्गामा दुई कट्ठाको दरले प्रभावित किसानहरुबाट तरकारी खेती गराउँदै आएको सीआईसीका संजय साहले बताए । सो जग्गा घेरवार, खेतीका इनार, खुर्पी, कोदालो, बिउ बिजन, मलखाद्य समेत सम्बन्धित संस्थाहरुले उपलब्ध गराउंदै आएको जानकारी समेत उनले दिए ।

साहले भने यो कार्यक्रम धनुषाका कमला नगरपालिकामा पनि संचालनमा छन । अन्य स्थानीय तहहरुले पनि कोरोना प्रभावित वा वैदेशिक रोजगारबाट फर्किएका मात्र नभई अन्य भूमिहीन किसानहरुलाई सरकारी पर्ती जग्गामा तरकारी खेती र अन्य अन्नबाली उत्पादन गर्न लगाएमा धेरै हदसम्म बेरोजगारी र गरीबी न्यूनीकरण गर्न सकिन्छ ।