विजय साह
ढल्केवर, धनुषा
धनुषाको ढल्केवरमा रहेको पशुपति प्लाइबोर्ड उद्योगबाट निस्कने धुलो, धुवाँ र प्रदूषणका कारण आजित स्थानीयवासी आक्रोशित बनेका छन् । पटकपटक प्रदूषण नियन्त्रण गर्न गरेको आग्रहलाई उद्योग प्रशासनले बेवास्ता गरेपछि स्थानीयवासी आक्रोशित भएका हुन् ।
जनप्रतिनिधि, व्यापारी र स्थानीयले उद्योगविरुद्ध आन्दोलन गर्ने चेताबनी दिएका छन् । बुधबार उद्योग प्रशासनलाई भेटेर उहाँहरुले उद्योगबाट निस्कने धुलो, धुवाँको उचित व्यवस्थापन गर्न भन्दै यस्तो चेताबनी दिएको बताइएको छ ।
उद्योगबाट निस्किने धुलो र धुवाँले वातावरण प्रदूषण गरेपछि स्थानीय हैरान भएका छन् । उद्योगको चिम्नीबाट अत्यधिक खरानी निस्कने गरेको र यसले जनजीवन नै प्रभावित भएको स्थानीय युवा प्रमोद साहले बताउनुभयो । उद्योगमा बालिने दाउराको खरानी उडेर घर, आँगन, खाना पकाउने भान्सा र खेतबारीसम्म पुग्ने गरेको उहाँको भनाइ छ ।
‘कपडा सुकायो खरानीले ढाकिन्छ, भान्सामा पकाएको खानासमेत सफा हुन पाउँदैन, “होटल व्यवसायीसमेत रहनु भएका साहले भन्नुभयो, यसको नियन्त्रणका लागि उद्योगले कुनै पहल नगर्दा धेरै समस्या भएको छ ।”
प्रदूषण नियन्त्रणका लागि पशुपति प्लाइबोर्डले सामान्य उपकरणसमेत प्रयोग नगरेको र पटकपटक मौखिक जानकारी गराउँदा पनि चासो नदिएको मिथिला नगरपालिका–६, का वडाध्यक्ष नन्दकिशोर यादवले बताउनुभयो । प्रदुषणका कारण उद्योग आसपासका जनताको जीवन नरकतुल्य भएको छ । उद्योगको चिम्नीबाट निस्कने धुँवाधुलोका कारण धोएर सुकाएको लुगा कालो हुने, घरभित्रै बसेर खाना खाँदा पनि खानाभरी धुलो बस्ने, श्वास लिनसमेत गाह्रो हुनेलगायतका समस्या उत्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
‘निरोगी जीवन बाँच्न पाउने नागरिकको नैसर्गिक अधिकार खोसिएको छ, त्यसैले जसरी भएपनि प्रदूषण नियन्त्रण गर्न भनेका छौं । “अध्यक्ष यादवले भन्नुभयो, यहाँ प्रदूषणमुक्त वातावरण निर्माण होस् भन्ने हाम्रो मुख्य चाहना छ ।”
स्थानीय स्वायत्त शासन ऐनअनुसार नगरमा सञ्चालित उद्योग नियमनको अधिकार नगरपालिकालाई छ । नगरपालिकाले ठोस कदम चाल्न नसकेको स्थानीय युवा देवराज घिमिरेको भनाइ छ । संविधानको धारा ३० ले हरेक नागरिकलाई स्वस्थ वातावरणको हक सुनिश्चित गरेको छ । यस्तै, वातावरण संरक्षण नियमावली, २०५४ को नियम १६ मा उद्योगले अस्थायी वा स्थायी प्रदुषण नियन्त्रणसम्बन्धी प्रमाणपत्र लिनुपर्ने र हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार तोकिएको मापदण्डविपरित कुनै उद्योगले फोहरमैला निष्काशन गर्न पाइँदैन । तर, कानूनी व्यवस्थाको पालना पशुपति प्लाइबोर्ड उद्योग नगरेको उहाँले बताउनुभयो ।
यता, पशुपति प्लाईबोर्ड उद्योगका प्रबन्धक मुकेशकुमारले प्रदूषण नियन्त्रणका लागि प्रयास भइरहेको बताउनुभयो । उद्योगबाट थोर बहुत प्रदूषण निस्कनु स्वभाविक भएको बताउँदै उहाँले पूर्णरुपमा प्रदूषण नियन्त्रणको पहल भइरहेको जानकारी दिनुभयो ।