मुखियापट्टी, धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि सामुदायिक विद्यालयका शिक्षकलाई सस्थागत विद्यालयमा पढाउन रोक लगाएको छ । पालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई निजी विद्यालय र कोचिङ सेन्टरहरूमा पढाउन पूर्णरूपमा रोक लगाएको हो ।
पालिकाले एक सूचना जारी गर्दै पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी, करार, राहत, नगर तथा बालविकास शिक्षकले निजी विद्यालय वा कोचिङ सेन्टरमा पनि कार्यरत रहेको गुनासो तथा जानकारी प्राप्त भएकाले कडाइ गरिएको जनाएको छ । शिक्षा नियमावली २०५९ को संशोधित संस्करणअनुसार परिच्छेद २२ को नियम १३३ मा स्पष्ट उल्लेख गरिएअनुसार शिक्षकले विद्यालय व्यवस्थापन समिति तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखको पूर्वस्वीकृति बिना अन्यत्र काम गर्न नपाउने कानुनी व्यवस्था छ । पालिकाले यस्तो कार्य नगर्न र नगराउन चेतावनी दिँदै भनेको छ, “यस निर्णयको उल्लङ्घन भएमा कानूनबमोजिम कडा कारबाही गरिनेछ ।
गाउँपालिका अध्यक्ष जयकुमार यादवले शिक्षकको सम्पूर्ण ध्यान र समय सामुदायिक विद्यालयको पठनपाठनमा केन्द्रित गराउन यो कदम आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षक हाम्रो सामुदायिक विद्यालयको मेरुदण्ड हुन् । उहाँहरूले आफ्नो सम्पूर्ण ध्यान र समय विद्यार्थीको भविष्य निर्माणमा केन्द्रित गर्नुपर्छ । शिक्षक निजी स्कुल वा कोचिङ सेन्टरमा संलग्न हुँदा सामुदायिक विद्यालयको गुणस्तरमा प्रत्यक्ष असर परेको देखिएपछि यो निर्णय गर्नुपरेको उहाँको भनाइ छ ।
यसैबीच, मुखियापट्टी मुसहरनिया गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका ११ वटा बिना दर्ताका निजी विद्यालयहरूमा तालाबन्दी गरी बन्द गरेको छ । गाउँपालिकाका अध्यक्ष जयकुमार यादवका अनुसार निजी विद्यालयहरूलाई पटक–पटक कानुनी प्रक्रिया पूरा गर्न आग्रह गर्दा पनि पालिकाको निर्देशन नमानेपछि अन्ततः कार्यपालिका समितिको निर्णयअनुसार कारबाही गरिएको हो ।
उहाँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम आधारभूत तथा माध्यमिक तहको शिक्षा सञ्चालन र व्यवस्थापनको अधिकार स्थानीय तहलाई रहेको र यस अधिकारअनुसार पालिकाले अवैध विद्यालय बन्द गराउने निर्णय कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।
अध्यक्ष यादवले विद्यालय सञ्चालकहरूलाई कानुनी प्रक्रिया पूरा गरेर मात्र विद्यालय सञ्चालन गर्न आग्रह गरिएको बताउँदै पालिकाको निर्णयको उल्लङ्घन गर्नेलाई थप कारबाही गरिने बताउनुभयो ।

