विजयकुमार साह
ढल्केबर, धनुषा । धनुषाको धनुषाधाम नगरपालिका–४, रामपुरटोलमा दलित समुदाय अन्तर्गत पर्ने महरा जातिको एकछत्र बसोबास छ । यहाँको जनसङ्ख्या करिब एक हजारभन्दा बढी जनसङ्ख्या छ तर यहाँ आजसम्म एक जना पनि उच्च शिक्षा हासिल गर्न सकेका छैनन् । बस्ती ठूलो छ, जनसङ्ख्या पनि उल्लेखनीय छ तर पढाइको मामलामा भने यो टोल निकै पछि परेको छ । अधिकांश बालबालिका बिचमै पढाइ छोड्ने गरेकाले उच्च शिक्षा पढेका एक जना पनि भेट्न सकिने अवस्था छैन् ।
स्थानीयका अनुसार एक सय ५० भन्दा बढी घरधुरी रहेको यस बस्तीमा १५ जना पनि एसईई उत्तीर्ण छैन् । त्यस्तै माध्यमिक तहसम्म अध्ययन गर्नेको सङ्ख्या पनि आठ–नौ जनामात्र छ । गाउँमा २४ वर्षिय प्रहलादकुमार महरा र प्रियंकाकुमारी महरा मात्र धेरै पढेका व्यक्ति भनेर चिनिन्छन् । उहाँ प्रहलाद बिबिएस दोस्रो सेमेस्टरसम्मको पढाइ गर्नुभएको छ भने प्रियंका हाल एचए (स्वास्थ्य सहायक) अध्ययन गरिरहनुभएको छ ।
शिक्षाको यस्तो न्यून अवस्थाले रामपुरको वर्तमान मात्र होइन भविष्य पनि अन्धकार बन्ने स्थानीय युवा नागेन्द्र महराको भनाइ छ । उहाँका अनुसार गाउँका अधिकांश परिवार आर्थिक रूपले मध्यमस्तरका छन् । दुई–तीन घर मात्र विपन्नको दायरामा पर्छन् । तर पनि पढाइप्रति चासो दिएको देखिदैन । यहाँका अभिभावक पनि आफ्ना सन्तानलाई पढाउनेतर्फ जागरुक नदेखिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा गएका अभिभावक पनि सन्तानको शिक्षामा खासै चासो दिएका छैनन् । छोराछोरी पढ्छन् कि पढ्दैनन् भन्नेमा कसैको मतलब हुँदैन ।” अभिभावकको बेपरवाह र जनप्रतिनिधिले शिक्षाका महत्व बुझाउन नसक्दा सिङ्गो गाउँ शिक्षा क्षेत्रबाट बञ्चित रहेको महराको कथन छ । उहाँका अनुसार हालसम्म यो बस्तीबाट एक जना पनि सरकारी निकायमा उपस्थिति जनाउन सकेको छैन । जब शिक्षाको ढोका नै बन्द भएपछि अवसरका ढोका पनि बन्द हुनु स्वभाविक भएको उहाँले बताउनुभयो ।
गाउँका अर्का युवा प्रहलादकुमार महराले गाउँ नजिकै विद्यालय नभएकाले पनि यहाँका बालबालिका बिचमै पढाइ छाड्ने गरेको बताउनुभयो । उहाँका अनुसार गाउँ नजिकै माध्यमिक तहसम्मको विद्यालय छैन् । दुई किलोमिटरको दुरीमा दुई वटा आधारभूत विद्यालय छन् तर माध्यमिक तहका लागि तीन किलोमिटर टाढा जानुपर्छ । त्यसले गर्दा पनि सात–आठ कक्षा पढेका बालबालिका बिचमै पढाइ छोड्नेको सङ्ख्या बढ्दो छ । प्रहलादकुमारले गाउँमा अहिले दुई सयभन्दा बढी बालबालिका विद्यालय पढ्न जाने गरेको बताउनुभयो । तर आधारभूत तहपछि ती बालबालिकाले पनि पढाइ अगाडि बढाउन नसक्ने चिन्ता व्यक्त गर्नुभयो ।
गाउँका ६५ वर्षिय रामवृक्ष महराले गाउँमा अहिले पनि पढेर के हुन्छ र ? भन्ने धारणा बलियो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पालामा विद्यालय नै थिएन । त्यसैले गोठालो र खेतबारी गर्दै पढ्न उमेर वित्यो । तर अहिलेका पुस्ता पनि शिक्षाबाट बञ्चित हुनु चिन्ताको विषय हो ।” पढाइप्रति सकारात्मक सोचन नभएकाले बस्तीको सम्पूर्ण विकास र परिर्वतनको ढोका अझै बन्द रहेको उहाँको भनाइ छ ।
स्थानीय सञ्चारकर्मी तथा रेडियो धनुषका सञ्चालक मुकेशकुमार ठाकुरले स्थानीय सरकार तथा अन्य गैरसरकारी संस्थाको ध्यान पनि यो गाउँतर्फ नपुगेको बताउनुभयो । शिक्षाका महत्व बुझाउने, सचेतनामूलक कार्यक्रम ल्याउने, स्कुलको पहुँच बढाउनेजस्ता आधारभूत कुरामा कसैको ध्यान नगएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, शिक्षा कुनै जात, वर्ग वा समुदायको होइन । यो त मानव जीवनको आधारभूत अधिकार हो । तर रामपुर टोलमा शिक्षाप्रति चेतना छैन । त्यसैले यहाँका बासिन्दा नेतृत्व, सरकारी जागिर र अवसरबाट बञ्चिछ छन् ।
ठाकुरका अनुसार स्थानीय तह, अभिभावक, युवा र समाजिक सङ्घसंस्थाले मिलेर यो स्थितिलाई बदल्नु आवश्यक छ । नजिकै विद्यालयको स्थापना, छात्रवृत्तिको व्यवस्था, पढाइप्रति प्रेरणा दिने कार्यक्रम लगायत सामुहिक प्रयासबाट मात्रै रामपुर टोलको भविष्य उज्यालो बन्ने उहाँको भनाइ छ ।
धनुषाधाम नगरपालिका–४ का वडाध्यक्ष मनोज यादवले महरा बस्तीको पछिल्लो शैक्षिक अवस्थाप्रति गम्भीर चासो व्यक्त गर्नुभयो । उहाँका अनुसार गाउँमा शिक्षाको चेतना अभाव मुख्य समस्या हो र त्यसलाई तोड्न स्थानीय सरकार निरन्तर प्रयासरत छ ।
उहाँले भन्नुभयो, “हामीले अघिल्ला वर्षमा पनि सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका थियौं । गाउँका अभिभावक र बालबालिकालाई शिक्षाको महत्व बुझाउन विभिन्न सभा, बैठक र अभिप्रेरणा कार्यक्रम सञ्चालन गरियो । तर पुरानो सोच र परम्परागत धारणा तोड्न अझ समय लाग्ने देखिन्छ ।”
उहाँले आगामी वर्षका लागि केही नयाँ योजना बनाइएको उल्लेख गर्दै महरा बस्तीका बालबालिकाको पढाइलाई निरन्तरता दिन गाउँमै निःशुल्क ट्युशन कक्षा सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विशेष गरी कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी अनुभवी शिक्षकमार्फत सहायक कक्षा सञ्चालन गरिनेछ । यसका लागि वडा कार्यालयले स्रोत व्यवस्थापनको काम सुरु गरिसकेको छ ।
त्यसैगरी, अभिभावक स्तरमा सोच परिवर्तन ल्याउने उद्देश्यले विद्यालय तथा टोलस्तरीय छलफल, अन्तरक्रिया, अभिभावक भेला जस्ता कार्यक्रम सञ्चालन गरिने योजना रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, अभिभावकले सोच नबदलिएसम्म सन्तानको भविष्य बदलिँदैन । त्यसैले हामी बस्तीमै पुगेर अभिभावकलाई शिक्षाको आवश्यकता बारे सम्झाउनेछौँ ।”महरा बस्तीका बालबालिकाले पनि अन्य समुदायसरह शिक्षाको समान अवसर पाउन भन्ने चाहना रहेको वडाध्यक्ष यादवले बताउनुभयो ।


