ढल्केवर, धनुषा ।
धनुषाको वीरेन्द्रबजारमा चारनाथ उद्योग बाणिज्य संघको आयोजनामा जारी २६औं वृहत शान्ति फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा पर्साको विरगञ्ज युथ एकेडेमी विजयी भएको छ ।
विरगञ्ज युथ एकेडेमीले विराटनगरको विराट युवा स्पोर्टिङ क्लबलाई ०–१ गोलले पराजित गरेको हो । खेलको पहिलो हाफमै दबाब सिर्जना गरेको विरगञ्जले जर्सी नं. ७ का खेलाडी अस्मित चौधरीको शानदार गोलमार्फत अग्रता लिएको थियो । चौधरीले करिब २० यार्ड टाढाबाट प्रहार गरेको फ्रिक–किक गोलमा परिणत भएको थियो ।
खेलको अन्तिमसम्म दुवै टोलीले आक्रमण र बचाउमा बराबरी प्रदर्शन गरे पनि पहिलो हाफमा प्राप्त गरेको अग्रतालाई जोगाउन सफल रहँदै विरगञ्जले जित सुनिश्चित गरेको हो । उत्कृष्ट प्रदर्शनका आधारमा अस्मित चौधरीलाई खेलको ‘म्यान अफ द म्याच’ घोषित गरिएको थियो ।
यो जितसँगै विरगञ्ज युथ एकेडेमी प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । आयोजकका अनुसार प्रतियोगितामा आयोजक टिमसहित आठ टोली सहभागी छन् । प्रतियोगिता भदौ २५ गतेसम्म सञ्चालन हुने तय भएको छ ।
प्रतियोगिताको विजेता टोलीलाई १ लाख ११ हजार १११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले ६१ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

