मनोनयन पत्र दाखिला आजदेखि, प्रमुख पार्टीहरु टिकट वितरणमा पछाडी

|

जनकपुरधाम :  आसन्न स्थानीय तहको निर्वाचनमा आइतबार(आज) देखि मनोनयन पत्र दाखिला गराउने भएको छ । निर्वाचन आयोगले मनोनयन पत्र दाखिला गराउनको लागि यसपाली दुई दिनको समयसीमा तोकेको छ ।

विगतमा मनोनयन पत्र दाखिलाको समय एक दिने हुने गरेको थियो । दलहरुलाई उम्मेदवारको नाम टुंगो लगाउन सकस भएको छ । नेपाली कांगे्रस, जनता समाजवादी पार्टी(जसपा), नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) लगायतका प्रमुख दलहरुले उम्मेदवारको नाम टुंगो लगाउन जुटेका छन् । आइतबार मनोनयन पत्र दाखिला गराउने समय रहेपनि प्रमुख दलका अधिकांश उम्मेदवारले सोमबार नै मनोनयन पत्र दाखिला गराउने भएका छन् । आइतबार मनोनयन पत्र दाखिलाको समय रहेपनि उम्मेदवारहरुले टिकट नपाएकाले सोमबार मात्र मनोनयन दाखिला गराउन भएका छन् । पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरपालिकामा तालमेल गरेपनि नगरपालिका र गाउँपालिकामा गरेको छैन् । तालमेल नहुँदा नगरपालिका र गाउँपालिकाहरुमा सबै दलले उम्मेदवार खडा गर्ने भएको छ ।

नेपाली कांगे्रसले अन्तिम समयमा टिकट दिनेछ, एक जना नेताले भने-अहिले दिदैमा बागी उम्मेदवार हुने जोखिम हुन्छ । त्यसैले उम्मेदवारको नाम छनौट गरेर टिकट भने रोकेर राख्ने गरेको छ । टिकट छिटो दिएमा पार्टी भित्र आन्तरिक विवाद र बागी भएर उम्मेदवारी दिने सम्भावना बढ्ने भएकाले अन्तिम समयमा टिकट दिने गरिएको उनले थपे । मधेश प्रदेशका अधिकांश पालिकामा नेपाली कांग्रेस प्रतिस्पर्धामा छ । यता, जनता समाजवादी पार्टी(जसपा) पनि उम्मेदवारको टुंगो लगाउन ढिलाई गरेको छ । अन्तिम समयमा टिकट दिदा बागी हुनेको सम्भावना कम हुन्छ, एक नेताले भने-१०-१० जना आकांक्षी छन्, पाउने त एक जना नै हो । यस्तोमा असन्तुष्टि हुनु स्वभाविक रहेकोले पार्टीले संयमित भएर अघि बढेको हो ।