जनकपुर । बोक्सीको आरोपमा महिलामाथि हुने अमानवीय व्यवहार, कुटपिट तथा मलमुत्र खुवाउने जस्ता जघन्य अपराध न्यूनीकरण गर्न मधेश प्रदेशका विभिन्न जिल्लामा जनचेतनामूलक अभियान सञ्चालन गरिने भएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका संयोजक कोविदशरण उपाध्यायले आइतबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी बोक्सी आरोपका घटना भएका बस्तीमा अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । प्रतिष्ठानका संयोजक कोविदशरण उपाध्यायले बोक्सीको आरोप लगाउने प्रवृत्ति अझै पनि मधेशका ग्रामीण क्षेत्रमा विद्यमान रहेकाले पुनः घटना हुन नदिन पनि सचेतनामूलक अभियान आवश्यक रहेको बताउनुभयो । अभियानअन्तर्गत मङ्गलबार जनकपुरस्थित मत्स्य विकास तालिम केन्द्रको सभाहलमा विशेष जनचेतनामूलक कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार हालसम्म मधेश प्रदेशका विभिन्न जिल्लामा ३७० भन्दा बढी जनचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेका छन्।
संयोजक उपाध्यायले भन्नुभयो, “बाटो, पुल वा भवन निर्माण मात्र विकास होइन, समाजबाट अन्धविश्वास हट्नु र नागरिकमा चेतनाको विकास हुनु नै वास्तविक विकास हो।“
उहाँका अनुसार धनुषामा तीन वर्षको अवधिमा बोक्सीको आरोप सम्बन्धी पाँच वटा मुद्दा दर्ता भएका छन्।

