छलफलपछि डेढ महिनादेखि बन्द रास्वपा धनुषाको कार्यालय खुल्यो

|

ढल्केवर, धनुषा ।
आन्तरिक विवादका कारण करिब डेढ महिनादेखि बन्द रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा जिल्ला समितिको कार्यालय बिहीबार खोलिएको छ । पार्टीका शीर्ष तहका नेताको पहलमा भएको छलफलपछि जनकपुरमा रहेको पार्टीको जिल्ला कार्यालयको ताल्चा खोलिएको हो ।

पार्टीका सदस्य तथा प्रतिनिधिसभा सदस्य राजकिशोर महतोको पहलमा पूर्वमन्त्री तथा पार्टीका नेता दीपक साह, रामविनोद महतो, जुली यादव, प्रमिला सिंहलगायत प्रदेश तथा जिल्ला तहका प्रतिनिधिको उपस्थितमा छलफल भएको थियो । छलफलमा पार्टीका आन्तरिक विवादलाई संस्थागत प्रक्रियाबाट समाधान गर्ने सहमति भएको पार्टीका सदस्य विजय दासले जानकारी दिनुभयो ।

उहाँले छलफलका क्रममा पार्टीभित्र उत्पन्न मतभेदका कारण सङ्गठनका गतिविधिमा परेको असरबारे समीक्षा गर्दै सहभागी नेताले विवादलाई व्यक्तिगत वा गुटगत रुपमा नभई पार्टीको विधान, विधि र प्रक्रियाअनुसार समाधान गर्नुपर्नेमा जोड दिइएको बताउनुभयो । उहाँका अनुसार आन्तरिक विवादका विषयमा नेतृत्व तहबाट सूक्ष्म रुपमा छानबिन गरिने र प्राप्त निष्कर्षका आधारमा विधिसम्मत ढङ्गले समाधान खोजिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

त्यस अवसरमा पूर्वमन्त्री साहले पार्टीभित्र अनुशासन, विधि र सङ्गठनको मर्यादा सबै नेता तथा कार्यकर्ताले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले व्यक्तिगत असन्तुष्टिभन्दा पार्टीको हितलाई प्राथमिकता दिनुपर्ने जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य महतोले सङ्गठनलाई थप प्रभावकारी र सक्रिय बनाउन सबै पक्षबीच आपसी विश्वास र सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सम्वाद र सहमतिमार्फत देखिएका समस्या समाधान गर्न सकिने भन्दैक पार्टीलाई जनअपेक्षाअनुसार अघि बढाउन सबैलाई आग्रह गर्नुभयो ।