
आइतबार बिहान पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको बिमान दुर्घटनामा धनुषाको एकै परिवारका सात जना परेपछि गाउँ शोकमा डुबेको छ ।
बिमान दुर्घटनामा १३ जना नेपाली मध्ये सात जना धनुषाको मिथिला नगरपालिका–११ लोटाका हुन् । उनीहरुको मृत्यु भए नभएको बारे कुनै पृष्टि भएको छैन् । बिमान दुर्घटनामा अन्दाजी ४२ वर्षिय राजनकुमार गोलेसहित उहाँको आफन्तहरु परेका छन् । राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्ग गरी सात जना एक परिवारका सदस्यहरु बिमान दुर्घटनामा परेका छन् ।
उनीहरु मुक्तिनाथ दर्शन गर्न जोमसोम जान बिमानमा सवार भएका थिए ।
एकै परिवार तथा एउटै टोलमा बस्ने सात जना बिमान दुर्घटनामा परेपछि गाउँवासीमा रुवावासी चलेको छ । दुर्घटनामा परेका आफन्तलाई सान्त्वना दिन गाउँलेहरु घरमा भेला भएका छन् । सान्त्वना दिन मधेस प्रदेश सरकारका उधोग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो आफन्तको घर पुगेका थिए ।
पोखराबाट मुस्ताङका लागि उड्ेको तारा एयरको बिमान मुस्ताङ्गको थासाङ्ग गाउँपालिका–२ लारीकोटभन्दा माथिल्लो क्षेत्र लाङ्चिगोलामा जलिरहेको अवस्थामा नेपाली सेनाले फेला पारेको छ । विमानमा रहेका चालक दलका सदस्य तथा यात्रुहरुको अवस्थाको बारेमा पूर्ण विवरण आउन सकेको छैन । यस क्षेत्रमा मौसमको खराबीका कारण सो क्षेत्रमा जानलाई कठिनाइ भइरहेको जानकारी प्राप्त भएको छ ।
आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि १९ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको उक्त जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपश्चात् उक्त जहाज सम्पर्कविहीन भएको थियो ।