एमाले परित्यागको घोषणा गर्दै मिथिला नगरपालिकाका निवर्तमान मेयर महतोले दिए स्वतन्त्र उम्मेदवारी

|

ढल्केवर, धनुषा

विजय साह

अन्तिम समयमा पार्टीको टिकटबाट विमुख भएका धनुषाको मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोले नेकपा एमाले परित्याग गर्दै स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिनुअघी निवर्तमान मेयर महतोले पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट राजीनामा दिएको घोषणा गरे । उनले स्थानीय तहको निर्वाचन सप्पन्न गराउन ढल्केवरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता गराएका हुन् । मेयर महतोको नाम नेकपा एमालेबाट सिफारिस भएको थियोे । नेकपा एमाले मिथिला नगरपालिका कार्यसमितिले निवर्तमान मेयर पदको प्रत्यासी उम्मेदवारको रूपमा निवर्तमान मेयर महतोको एकल नाम सिफारिस गरेको थियोे

पार्टीबाट मेयर उम्मेदवारका रूपमा अघि सारिएका मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोको सट्टा पूर्व रियलस्टेट व्यावसायी राजाराम महतोलाई उम्मेदवार बनाइएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका हरिनारायणले टिकट वितरणमा रातारात खेल भएको र सोमबार बिहानमात्र आफूलाई टिकट नदिएर राजारामलाई दिइएको जानकारी पाएको बताए ।

गत स्थानीय तह चुनावमा काँग्रेसका विद्रोही उम्मेदवार भएर एमाले उम्मेदवार हरिनारायणसँग पराजित भएका थिए । राजारामलाई हरिनारायणले नै पहल गरेर केही वर्षअगाडि नेकपा एमालेमा प्रवेश गराएका थिए ।
आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेको मिथिला नगर कार्यसमितिले निवर्तमान मेयर हरिनारायणको एकल नाम सिफारिस गरेको थियो ।

हरिनारायण मिनपा मेयरबाट राजीनामा दिएर चुनावी प्रचारमा सक्रिय भइसकेका बेला अर्कालाई उम्मेदवार बनाउने पार्टीको निर्णय आएको हो ।

‘यो अप्रत्याशित र उदेकलाग्दो निर्णय हो । कसैले पत्याउन नसक्ने । एकाबिहान पार्टीका स्थानीय नेताकार्यकर्तासँग समन्वय गरेर प्रचारमा जान लागेका बला हरिनारायणजीले पार्टीले उहाँलाई उम्मेदवार नै नबनाएको सुन्नुपर्यो,’ उम्मेदवार परिवर्तनसम्बन्धी निर्णयबाट स्तब्ध एक एमाले कार्यकर्ताले भने, ‘पार्टीको यो दुर्भाग्यपूर्ण र कपटी निर्णय जुनसुकै तहबाट आए पनि स्वीकार गर्न सकिँदैन ।’
मिनपामा मेयर उम्मेदवार परिवर्तनसम्बन्धी निर्णय एमालेका बलशाली नेता रघुवीर महासेठको करबलमा भएको ती कार्यकर्ताको भनाइ छ ।