
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका(मिनपा)मा नेकपा एमाले उम्मेदवार आइतबार मध्यराति परिवर्तित भएको छ । पार्टीबाट मेयर उम्मेदवारका रूपमा अघि सारिएका मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोको सट्टा पूर्व रियलस्टेट व्यावसायी राजाराम महतोलाई उम्मेदवार बनाइएको छ ।
नेकपा एमालेका धनुषा जिल्ला अध्यक्ष रहिसकेका हरिनारायणले टिकट वितरणमा रातारात खेल भएको र सोमबार बिहानमात्र आफूलाई टिकट नदिएर राजारामलाई दिइएको जानकारी पाएको बताए ।
गत स्थानीय तह चुनावमा काँग्रेसका विद्रोही उम्मेदवार भएर एमाले उम्मेदवार हरिनारायणसँग पराजित भएका थिए । राजारामलाई हरिनारायणले नै पहल गरेर केही वर्षअगाडि नेकपा एमालेमा प्रवेश गराएका थिए ।
आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेको मिथिला नगर कार्यसमितिले निवर्तमान मेयर हरिनारायणको एकल नाम सिफारिस गरेको थियो । हरिनारायण मिनपा मेयरबाट राजीनामा दिएर चुनावी प्रचारमा सक्रिय भइसकेका बेला अर्कालाई उम्मेदवार बनाउने पार्टीको निर्णय आएको हो ।
‘यो अप्रत्याशित र उदेकलाग्दो निर्णय हो । कसैले पत्याउन नसक्ने । एकाबिहान पार्टीका स्थानीय नेताकार्यकर्तासँग समन्वय गरेर प्रचारमा जान लागेका बला हरिनारायणजीले पार्टीले उहाँलाई उम्मेदवार नै नबनाएको सुन्नुपर्यो,’ उम्मेदवार परिवर्तनसम्बन्धी निर्णयबाट स्तब्ध एक एमाले कार्यकर्ताले भने, ‘पार्टीको यो दुर्भाग्यपूर्ण र कपटी निर्णय जुनसुकै तहबाट आए पनि स्वीकार गर्न सकिँदैन ।’
मिनपामा मेयर उम्मेदवार परिवर्तनसम्बन्धी निर्णय एमालेका बलशाली नेता रघुवीर महासेठको करबलमा भएको ती कार्यकर्ताको भनाइ छ ।
यता हरिनारायणले पार्टीको अकल्पनीय र स्तब्धकारी निर्णयबारे जानकारी प्राप्त भएपछि आफूहरू आकस्मिक बैठक गरिरहेको जानकारी दिए । उनले नेताकार्यकर्ता, आफ्ना समर्थक तथा शुभेच्छुकहरूका मनोभावअनुसार सबै वडामा उम्मेदवारी दिँदै स्वतन्त्रबाट मिनपा मेयरमा लड्ने बताए ।
मेयर प्रत्याशीका रूपमा एमालेबाट आधिकारिक पत्र प्राप्त गरिसकेको जनाउँदै राजारामले आफू टिकट लिएर काठमाडौंबाट मिनपा आइरहेको र समयभित्रमै नामांकन गराउने जानकारी दिए ।