
ढल्केवर, धनुषा
नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य रामऔतार महतोले पार्टी परित्याग गरी जनता समाजवादी र नेकपा माओवादीको गठबन्धनबाट धनुषाको मिथिला नगरपालिकामा वडा अध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीको मिथिला नगरपालिका कार्यसमितिको उपाध्यक्षसमेत रहेका महतोले पार्टीले टिकट नदिएपछि जसपा र माओवादीको गठबन्धनबाट मिथिला नगरपालिका वडा नं. ६ को वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएको बुझिएको छ ।
महतोले आफू नेकपा एकीकृत समाजवादी पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट सोमबार नै राजिनामा दिएर निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएको बताए । उनले पार्टीबाट सीताराम महतो र महिला सदस्य रेखा महरासमेतले पार्टीबाट राजिनामा दिएर वडा सदस्यमा मनोनयन दर्ता गराएको जानकारी दिए ।
मिथिला नगरपालिकाको मेयर र उपमेयर पदका लागि जसपा नेपाल र माओवादीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेपछि केही वडामा वडा अध्यक्ष तथा सदस्य पदमा गठबन्धन गरेको बुझिएको छ ।