महोत्तरी : महोत्तरी, वल्वाकी युवा नेतृ ममता महतो अचेल निरास छिन्। आफूले पाउने उपप्रमुखको टिकट हातबाट गुमेपछि नेताहरुमाथिको विश्वास गुमेको उनको भनाइ छ। नेपाली कांग्रेसले महतोलाई वल्वा नगरपालिकाको उपप्रमुखको टिकट दिएको थियो।
राजनीतिक शास्त्रमा स्नात्तकोत्तर गरेकी उनी भन्छिन्, ‘पार्टीमा लगाएको योगदान उपल्लो तहका नेतृत्वका कारण फेरि एकपटक गुम्यो। अघिल्लो स्थानीय तह निर्वाचनमा पनि अन्तिम समयमा मैले पाएको टिकट गुमाउनुपरेको थियो,’ उनले अन्नपूर्णसँग भनिन्, ‘अहिलेसम्म पार्टीले दिएको जिम्मेवारी निभाउँदै आएकी छु। खटाएको ठाउँमा दिनरात खटिएकी छु।’
उनले पूर्वसांसद किरण यादवले आफूले पाउने टिकेट खोसेको दाबी गरिन्। वलवामा यादव निकट रामदुलारी ठाकुरले उपप्रुखमो टिकेट पाएकी छन्।
‘पूर्व सांसद यादव र वलवा नगरपालिकाका निवर्तमान मेयर विनोद यादव सुनियोजित ढंगले प्रस्तुत हुँदा पार्टीमा हैकमवाद कायम हुँदै गएको छ। उनीहरुकै कारण आफ्नो हातमा आएको टिकेट अर्कैको हातमा पुगेको छ,’ उनले भनिन्।
टिकट बाँडने क्रममा लोभलालचमा फसेपछि पछिल्लो समयमा आएर पार्टीको अस्तित्व नै संकटमा परेको उनको भनाइ छ। ‘नेतृत्व वर्गले युवाहरुलाई राजनीतिबाट वञ्चित गर्ने प्रयास गर्दैछ। यसको क्षति युवालाई भन्दा पनि बढी पार्टीलाई हुन्छ। यो कुरा नेतृत्व तहका मान्छेहरुले बुझ्नुपर्छ,’ उनले भनिन्।
महतो विगत दसक बढीदेखि कांग्रेसको राजनीतिमा सक्रिय छिन्। – अन्नपूर्ण