आचारसंहिता विपरित ढल्केवरको पार्क राजनीतिक दलको झण्डा

|

विजय साह
ढल्केवर, धनुषा

निर्वाचन आयोगले कुनै पनि सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दलको झण्डा राख्न नपाइने निमय लगाएको छ । तर धनुषाको ढल्केवरस्थित शहीद पार्कमा भने निर्वाचन आचारसंहिता विपरित विभिन्न राजनीतिक दलको चुनाव चिन्ह् अङ्किक झण्डा राखिएको पाइएको छ ।

मिथिला नगरपालिकाको सदरमूकामसमेत रहेको ढल्केवरस्थित पार्कमा नेपालका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत नेपालका प्रमुख राजनीतिक दलका चुनाव चिन्ह् अङ्कित झण्डा झुण्डियाएको छ ।

मिथिला नगरपालिकाको निर्वाचन अधिकृत दिपक धितालले विद्यालय, मन्दिरलगायत सार्वजनिक स्थानमा पार्टीको झण्डा राख्न नपाइने निर्वाचन आचारसंहिताले तोकेको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहित विपरित कहीँ कतै त्यस्ता झण्डा राखिएको छ भने व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

निर्वाचन आचारसंहिता पालना गर्न स्थानीय तहको राजनीतिक दलका प्रतिनिधि बोलाएर अवगत गराएको पनि निर्वाचन अधिकृत धितालले भन्नुभयो ।

निर्वाचन आचारसंहितामा राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न भनिएको छ ।

यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै उम्मेदवारलाई कारबाही गर्ने नियम रहेको छ । यस्तै निर्वाचन सम्बन्धी दलको भेला, कार्यक्रम, जुलुसमा दलको झण्डा, चिन्ह अंकित झोला, क्याप, गम्झा, मास्क लगायत प्रयोग गरेमा सम्बन्धित ब्यक्ति नै कारवाहीमा पर्नेसम्मको नियम रहेको निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ ।