मिथिला नगरपालिका : ‘राजारामलाई पार्टीको पुरै सहयोग छ’

|

ढल्केवर, धनुषा
धनुषास्थित मिथिला नगरपालिकाको मेयर पदको उम्मेदवारको रुपमा नेकपा एमालेबाट ‘ग्राण्ड इन्टी«’ गरेका राजारामा महतोलाई पार्टीको कार्यकर्ताले अनन्त सघाउने भएको छ ।

मनोनयन दर्ताको अधिल्लो दिनसम्म कुनै चर्चामा नरहेका राजारामले नेकपा एमालेबाट मिथिला नगरपालिकाको मेयर पदको प्रत्यासी उम्मेदवारको रुपमा एक्कासी टिकट लिएर आएपछि कार्यकर्ता रनभुल्लमा परेका थिए ।

नेकपा एमाले मिथिला नगरपालिका कार्यसमितिले मेयर प्रत्यासीका रुपमा निर्वतमान मेयर हरिनारायण महतोको एकल नाम सिफारिस गरेको थियो । कार्यसमितिले सिफारिस गरेको व्यक्ति हरिनारायणको नाम जिल्ला र प्रदेश कमिटीले समेत सिफारिस गरेर केन्द्रमा पठाएको थियो । तीनवटै कार्यसमितिबाट केन्दीय कार्यसमितिमा हरिनारायणको नाम सिफारिस गएपछि टिकट पाउनेमा विश्वस्त भएर चुनावको गतिविधिसमेत अगाडि बढाइसकेको थियो । यसका बावजूद मनोनयन दर्ता गर्ने दिन सोमबार बिहान सबैलाई चकित तुल्याउँदै राजारामले नेकपा एमालेबाट मेयरको टिकट लिएर आएपछि कार्यकर्तामा निरासा छाएको थियो ।

कार्यसमितिले सिफारिस गरेको व्यक्तिलाई टिकट नदिएर केन्द्रले अर्कैलाई मेयरको टिकट दिएको भन्दै सोहीदिन बसेको कार्यकर्ता भेलाले राजारामलाई पार्टीको सहयोग नरहने विषयमा सहमत भएका थिए । नेकपाका स्थानीय कार्यकर्ताले “टिकट पाउँदैमा जित्छु भन्ने नसोचे हुन्छ । मतदान केन्द्रले हाल्ने होइन स्थानीयले हाल्ने हो । ” भन्दै निराशा व्यक्त गरेका थिए ।
तर मनोनयन दर्ताको तीनदिन पछि भने कार्यकर्ता राजारामको पक्षमा देखिन थालिएको छ । नेकपा एमालेका एकजना कार्यकर्ताका अनुसार कार्यकर्ताको जनभावना विपरित कार्य भएकाले त्यसदिन कार्यकर्ता निराश देखिएको भएपनि अब भने पार्टीले टिकट दिएको व्यक्तिलाई नै पार्टीले पूर्ण सहयोग गर्ने बताए ।

नेकपा एमाले मिथिला नगरपालिका कार्यसमितिका अध्यक्ष दिपक कार्कीले पार्टीले जसलाई टिकट दिएपनि पार्टीको पुरै सहयोग रहने बताए ।
यसैगरी कार्यसमितिका सचिव नारायण बास्तोलाले पार्टीको कुनै पनि उम्मेदवारप्रति कुनै विमति नरहेको र मेयरदेखि वडासदस्यसम्मलाई यो दोस्रो चरणको स्थानीय तहको चुनावमा जित दिलाउन चुनावी अभियानमा लागिरहेको बताए ।

यता अन्तिम समयमा पार्टीको टिकटबाट विमुख भएका मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतोले नेकपा एमाले परित्यागको घोषणा गर्दै स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिनुअघी निवर्तमान मेयर महतोले पार्टीको साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट राजीनामा दिएको घोषणा गरे । उनले स्थानीय तहको निर्वाचन सप्पन्न गराउन ढल्केवरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार दर्ता गराएका हुन् ।