
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिकामा दुई मेयरसहित १२ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
नेकपा एमालेका बागी उम्मेदवार हरिनारायण महतो र जनता समाजवादी पार्टीका चन्देश्वर महतोले मेयरको उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यसैगरी, उपमेयरमा नेकपा माओवादी केन्द्रका बिमला अधिकारीले उम्मेदवारी फिर्ता लिएका छन् भने वडा अध्यक्षका ५ र वडा सदस्यका ४ जनाले उम्मेदवारी फिर्ता लिएको मिथिला नगरपालिकाको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिए ।
एमालेका बागी उम्मेदवार हरिनारायण महतोले पार्टीबाट मेयरमा उम्मेदवारी दिएका राजाराम महतोलाई सघाउन आफ्नो उम्मेदवारी फिर्ता लिएको बताइएको छ । यस्तै जसपाका चन्देश्वर महतोले गठबन्धनका उम्मेदवारलाई सघाउन आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए ।
मिथिला नगरपालिकामा जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले चुनावी गठबन्धन गरेको छ । गठबन्धनको समिकरण मिलाउन चन्देश्वरले उम्मेदवारी फिर्ता लिएको बुझिएको छ । यस्तै गठन मिलान गर्न नेकपा माओवादीका उपमेयरमा उम्मेदवारी दिएकी बिमला अधिकारीले उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।