जनताको मन राख्न वडा सदस्यमा रामोको उम्मेदवारी

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिकाका वडा नं. ७ का वडा अध्यक्ष रामो साहले आफ्नो पदबाट राजिनामा दिएर वडा सदस्यको उम्मेदवार बनेर चुनावी अभियानमा जुटेका छन् ।

वडा अध्यक्षको जिम्मेवारी राम्रोसँग बहन गर्न नसकिने हुँदा सदस्य पदमा उम्मेदवारी दर्ता गराएको उनले बताए । आफू लेखपढ गर्न नजानेको र वडामा धेरै कानुनी कार्यसमेत गर्नुपर्ने हुँदा दोस्रो पटक वडा अध्यक्ष बन्न नचाहेको निर्वतमान वडा अध्यक्ष साहले प्रस्ट पार्दै जनताको कुरा काट्न नसकेर वडा सदस्यमा उम्मेदवारी दिएको जानकारी दिए । साहले दुई वर्ष वडा अध्यक्षको कार्यभार सम्भालेका थिए ।

पहिलो चरणको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट वडा नं. ७ को वडा अध्यक्षमा युवराज उप्रेती निर्वाचित भएका थिए । हृदयघातका कारण दुई वर्षअघि उनको निधन भएपछि कार्यपालिका समितिले जेष्ठताका आधारमा वडाको अध्यक्षको कार्यभार साहलाई सुम्पिएको थियो । लेखपढ गर्न नजानेपनि उनले आफ्नो कार्यकाल कुशलतापूर्वक चलाएका थिए ।

सामान्य लेखपढसमेत गर्न नजानेका निर्वतमान वडा अध्यक्ष साहले जनप्रतिनिधि बनेर आउन दबाव आएपछि वडा सदस्यमै भएपनि चुनावमा होमिएको बताए ।