नागरिकता विनाका नागरिक, भन्छन्– अरूले भोट हालेको हेर्दा रहर लाग्छ

|

स्थानीय तह निर्वाचन सँघारमै आइसक्यो। गाउँ, शहरमा उम्मेदवारहरू भोट माग्ने चटारोमा छन्। चुनाव जित्न पार्टीहरूले जोसँग पनि गठबन्धन गरेका छन्। मतदाता आफ्ना आकांक्षा बोक्ने र बुझ्ने पार्टी र उम्मेदवार पहिल्याउँदैछन्। आफ्नै घर–गाउँमा भेटिने सरकार चुन्ने यो निर्वाचनको चटारो सबैलाई छ। तर, सिरहाको धनगढीमाई नगरपालिका–११, नैनपुर टोलकी खटरी सदा (७०) अपवाद हुन्। मन त उनलाई पनि छ यो चुनावी माहोलमा होमिने। आफूले चाहेका जनप्रतिनिधि जिताउने। दुःखको कुरा; वृद्धा खटरी भोट हाल्नै पाउँदिनन्।

 

खटरीले आफ्नो जीवनमा एकपल्ट पनि भोट हाल्न पाएकी छैनन्। भोट नै हाल्न नपाउनेलाई चुनावको चहलपहलले छोओस् पो कसरी?

२०७४ सालका दुइटा चुनाव (स्थानीय तह र प्रतिनिधिसभा)मा आफ्नै उमेरका छिमेकी भोट हाल्न गएको देखेपछि उनी पनि सकी–नसकी मतदान केन्द्रसम्म पुगिन्। तर, मतदाता सूचीमा नामै छैन भनेर फर्काइदिए। निर्वाचनका दिन सबै भोट हाल्न जाँदा, निर्वाचनपछि उम्मेदवारको जित–हारको चर्चा चल्दा उनलाई असाध्यै नरमाइलो लाग्छ। “हामी मान्छे नै अरूभन्दा कमसल भएर हो कि?” खटरी भन्छिन्, “अब कति पो बाँचिएला र, यो जुनी भोट हाल्न नपाएरै जाने भो।”

नैनपुरकै झालो सदा (७०) अब राम्ररी हिंडडुल गर्न नसक्ने भइसकिन्। यो उमेरसम्म एकपल्ट पनि भोट नहालेकी उनी बेलाबेला आफैंलाई प्रश्न गर्छिन्, “हामी मानिस नै होइनौं कि?” अरूबेला त्यति वास्ता नभए पनि चुनाव आउँदा उनको मन भतभती पोल्छ। “हुन त जितेपछि कोही फर्केर आउँदैनन्, तर भोट नदिंदासम्म आएर भेटेको भेट्यै गर्छन्” उनले भनिन्, “हामीलाई त भेट्न पनि कोही आउँदैनन्। कहिलेकाहीं मान्छे नै होइनौं कि झैं लाग्छ।”

नेपालको संविधान र निर्वाचन सम्बन्धी कानूनले १८ वर्ष पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गरेको छ। मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, रौतहट लगायत जिल्लामा ज्येष्ठ नागरिकहरूकै एउटा ठूलो संख्याले आफ्नो जीवनकालमा एकपल्ट पनि यो अधिकार प्रयोग गर्न पाएको छैन। त्यसको कारण हो, मतदाता सूचीमा नामै नसमेटिनु।

जस्तो कि, सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–२ की रीतादेवी सदा (६०) ले पञ्चायतकालदेखि अहिलेसम्म ८ वटा निर्वाचनमा मतदान गरिसक्नुपर्ने हो। २०३६ सालमै मतदानयोग्य भइसकेकी उनले एकपल्ट पनि भोट हाल्न पाएकी छैनन्। त्यही गाउँकी मानकीदेवी सदा (६२) को कथा रीतादेवीको भन्दा फरक छैन। ठ्याक्कै यही कथा बोकेका सप्तरीको सुरुङ्गा नगरपालिका–३, लक्ष्मीपुरका सूर्य सदा (५५) भन्छन्, “अरूले भोट हालेको हेर्दा रहर लाग्छ। तर, हामी जाँदा मतदाता नामावलीमा नाम छैन, हाल्न पाइँदैन भनेर फर्काइदिन्छन्।”

तराईका दलित, मुसहर र डोम समुदायमा यसरी मताधिकार प्रयोग गर्न नपाएकाको संख्या उल्लेख्य छ जो दलित भएकै कारण आफूहरूको ‘भोट नचलेको’ गुनासो गर्छन्। २०३१ सालमै मतदान गर्न योग्य भए पनि अहिलेसम्म भोट हाल्न नपाएकी सिरहाको धनगढीमाई नगरपालिका–११, नैनपुरकी जगिया सदा (६५) भन्छिन्, “दलित भनेर होला, हामीलाई मान्छे नै गनिएन।”

योग्य मतदाता तर मत दिनै पाउँदैनन्

सप्तरीको सुरुङ्गा नगरपालिका–३, लक्ष्मीपुरमा ३० घर मुसहरको बसोवास छ। बस्तीकी अगुवा उर्मिला सदाका अनुसार १८ वर्ष उमेर पुगेकाको संख्या मात्रै १८० भन्दा धेरै छ। तर, २५ वर्षमाथिका ३५ जनाले अहिलेसम्म मतदान गर्न पाएका छैनन्।

गत चैत तेस्रो र चौथो साता स्थलगत रिपोर्टिङमा पुग्दा मधेश प्रदेशका धेरै जिल्लाका दलित बस्तीमा यही अवस्था भेटियो। सिरहाको धनगढीमाई नगरपालिका–११, बलुवाटोलकी आशा सदाय (६०) र झोवो सदाय (५५) ले अहिलेसम्म भोट हालेकै रहेनछन्। मुसहर समुदायका २५ घरधुरी बस्ने बलुवामा २० वर्षमाथिका ३० जनाको नाम मतदाता सूचीमा नभएको सोही ठाउँका अगुवा लक्ष्मण सदाय बताउँछन्।

जनकपुर उपमहानगरपालिका–१४, भुजेलियास्थित मुसहरी टोलका रामनारायण सदा (४४) र उनकी श्रीमती जसोदेवी सदा ¬(४०) सँग अहिलेसम्म मतदान गरेको अनुभव नहुनुले बत्तीमुनिको अँध्यारो कुन हदसम्म छ भन्ने छर्लंग पार्छ। रौतहटको गरुडा नगरपालिका–६, पोठियाहीका टैट माझी (४५), छोटेलाल माझी (४०) र नथुनी माझी (३७) ले पनि अहिलेसम्म कुनै निर्वाचनमा मतदान गरेका छैनन्।

सप्तरीको सुरुङ्गा नगरपालिका–३ का रामनारायण सदा (४५) र श्रीमती पलाह सदा (४०) का नातिनातिना भइसके। तर, रामनारायण दम्पतीको भोट हाल्ने धोको अधुरै छ। मतदाता नामावलीमा नाम नहुँदा भोट हाल्न नपाएको बताउने पलाह भन्छिन्, “जहिले चुनाव आउँछ, नाम छैन भन्छन्। कसरी भोट दिनु?” सुरुङ्गा–३ का तुपासी सदा (३५) र फूलकुमारी सदा (२८) को कथा पनि ठ्याक्कै यस्तै छ।

हामी पुगेका सिरहा, सप्तरी, धनुषा र रौतहटका मुसहर बस्तीमा मतदान गर्ने उमेरका प्रत्येक १०० जनामा औसत २५ जना मतदानबाट वञ्चित रहँदै आएका भेटिए। – ब्रेक एन लिंक