अष्ट्रेलियाका राजदूत अर्नस्टद्वारा ढल्केबरस्थित मेलमिलाप केन्द्र अवलोकन

|

ढल्केबर, धनुषा ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्नस्टले धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरमा रहेको मेलमिलाप केन्द्रको मङलबार अवलोकन गर्नुभएको छ ।

वैदेशिक मामिला तथा व्यापार विभागको आर्थिक सहयोगमा द एसिया फाउण्डेसनद्वारा सञ्चालित स्थानीय सरकार सबलीकरण कार्यक्रमअन्तर्गत राजदूत अर्नस्ट नेतृत्वको टोलीले सो केन्द्रको अवलोकन गर्नुभएको हो ।

अवलोकनका क्रममा राजदूत अर्नस्टले मेलमिलाप केन्द्रले स्थानीय स्तरमा विवाद समाधानमा खेलेको भूमिकाबारे जानकारी लिनुभएको थियो । उहाँले समुदायमै सानासाना विवाद समाधान गर्ने प्रणालीले अदालतको बोझ घटाउनुका साथै नागरिकलाई छिटो र सुलभ न्याय प्रदान गर्न महत्वपूर्ण योगदान दिएको उल्लेख गर्नुभएको बताइएको छ ।

टोलीमा उहाँकी श्रीमती सिमोओन मारी तथा द एसिया फाउण्डेसनका नेपाल राष्ट्र प्रतिनिधि मेगन नाल्वोको समेत सहभागिता रहेको थियो । उहाँहरूले केन्द्रको कार्यप्रणाली, सेवा प्रवाह, मेलमिलापकर्ताको भूमिका तथा न्यायिक समितिसँगको समन्वयबारे जानकारी लिनुभएको थियो ।
उहाँहरुलाई मिथिला नगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक सुनिता सिंह बुढाथोकी, वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर स्याङ्ददन, मेलमिलाप केन्द्रका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।