मतको वैधता सुनिश्चित गर्न धनुषा–१ का मतदाताको माग

|

ढल्केबर, धनुषा ।
धनुषा निर्वाचन क्षेत्र नं. १ का मतदाताले आफ्नो मतको वैधता सुनिश्चित गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । वीरेन्द्र बजारका संजय यादवको नेतृत्वमा गएको समूहले उक्त ज्ञापनपत्र बुझाउँदै बहुमत मत प्राप्त उम्मेदवारको उम्मेदवारी खारेज गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको हो ।

ज्ञापनपत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी निर्वाचन आयोगले बदनियतपूर्ण ढंगले खारेज गरेको आरोप लगाइएको छ । बहुमत प्राप्त उम्मेदवारलाई उचित स्पष्टीकरण दिने अवसरसमेत नदिइएको र न्यायको सिद्धान्त उल्लंघन गरिएको उल्लेख गरेका छन् ।

उनीहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार उजुरी दर्ता हुने समयसीमा र प्रक्रियासमेत पालना नगरिएको दाबी गरेका छन् । मतदानको पूर्वसन्ध्यामा हतारमा स्पष्टीकरण माग गरी उम्मेदवारी खारेज गरिएको कार्यलाई गैरकानुनी तथा अलोकतान्त्रिक भन्दै विरोध जनाइएको छ ।

त्यस्तै, सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा समेत मतगणना प्रक्रिया अगाडि बढाइएको र आयोगले दिएको निर्देशनअनुसार मतगणनामा विवादास्पद निर्णय गरिएको ज्ञापनपत्रमा उल्लेख छ । निर्वाचन आयोगले अदालतको आदेशविपरीत कम मत प्राप्त उम्मेदवारलाई विजयी घोषणा गरिएको दाबी गर्दै यसलाई जनादेशविपरीतको कदम भनेका छन् ।
ज्ञापनपत्रमा सर्वोच्च अदालतले कालोसूचीसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको अवस्थामा पनि उम्मेदवारी खारेजीको आधार कमजोर भएको तर्क प्रस्तुत गरिएको छ ।

निर्वाचन आयोगले किशोरी साह कमलले प्राप्त गरेको ३० हजार ८९१ मत (४२.४५ प्रतिशत) लाई अपमान गरिएको भन्दै लोकतन्त्रको मर्ममाथि प्रहार भएको बताएका छन् । उनीहरूले जनताको मताधिकार संकुचन गर्ने कुनै पनि निर्णय अस्वीकार्य हुने स्पष्ट पारेका छन् ।

ज्ञापनपत्रमार्फत उनीहरूले तीन मुख्य माग अघि सारेका छन् । उम्मेदवारी खारेजी निर्णय तत्काल बदर गर्न, उम्मेदवारी पुनःस्थापना गर्न तथा हाल घोषित विजयी उम्मेदवारलाई कुनै कार्य नगर्न रोक लगाई किशोरी साह कमललाई निर्वाचित सदस्यको हैसियतमा काम गर्न दिन ।
मागहरू सम्बोधन नभए शान्तिपूर्ण तर सशक्त आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिइएको छ ।