धनुषाको लालगढमा ‘मिथिला हेरिटज मन्टेश्वरी स्कुल’ सञ्चालनमा

|

ढल्केबर, धनुषा ।
धनुषाको मिथिला नगरपालिका–१०, लालगढमा ‘मिथिला हेरिटज मन्टेश्वरी स्कुल’ सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । बालबालिकालाई प्रारम्भिक चरणदेखि नै गुणस्तरीय, व्यवहारिक तथा संस्कारयुक्त शिक्षा प्रदान गर्ने उद्देश्यसहित विद्यालय स्थापना गरिएको हो ।

विद्यालयका निर्देशक सुभाष घिमिरेले मधेश प्रदेशमै उदाहरणीय शैक्षिक केन्द्र बनाउने लक्ष्यका साथ स्कुल सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार लामो समयदेखि विभिन्न विद्यालयमा अध्यापन गराउँदै आउनु भएका आएका अनुभवी शिक्षक–शिक्षिकाद्वारा बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित शिक्षण पद्धति अपनाइनेछ ।

“हामी केवल पाठ्यपुस्तकमुखी शिक्षा होइन, जीवन उपयोगी सीप, अनुशासन र संस्कारसहितको आधुनिक शिक्षा दिन प्रतिबद्ध छौँ,” निर्देशक घिमिरेले भन्नुभयो, “बालबालिकामा सृजनशीलता, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने वातावरण तयार गर्नु हाम्रो प्राथमिकता हो ।”
हाल विद्यालयलाई प्रि–प्राइमरी (मन्टेसरी) तहबाट सञ्चालन गरिएको छ । करिब एक बिघा क्षेत्रफलमा फैलिएको परिसरमा आधुनिक संरचना, सुरक्षित वातावरण तथा बालमैत्री कक्षाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ ।

निर्देशक घिमिरेले मधेशमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालय स्थापना गरिएको उल्लेख गर्दै भन्नुभयो, “हाम्रो सोच आफ्नै क्षेत्रमै उत्कृष्ट शिक्षा दिनु हो । गरिब तथा विपन्न वर्गका बालबालिकाका लागि पनि यो विद्यालय समान रूपमा पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता छ ।”

उहाँले थप्नुभयो, “अहिले धेरै अभिभावक आफ्ना छोराछोरीलाई राम्रो शिक्षाका लागि बाहिर पठाउन बाध्य छन् । हामी त्यही आवश्यकता यहाँ नै पूरा गर्न चाहन्छौँ, मधेश प्रदेशमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन चाहन्छौँ ।