ढल्केबर, धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैयामा सञ्चालित जानकी फन पार्क एण्ड रिसोर्ट प्रा.लि.ले सोमबारदेखि ‘बगैंचा रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएको छ ।
रेष्टुरेन्टको उद्घाटन कम्पनीका प्रबन्ध निर्देशक गुड्डु जैनका परिवारका जेष्ठ सदस्य कैलास सर्राफले गर्नुभएको हो । उद्घाटनका क्रममा प्रबन्ध निर्देशक जैनले मधेश प्रदेशमै ठूलो क्षमताको रेष्टुरेन्ट, आधुनिक मिटिङ हल, कार्यक्रम आयोजना गर्न मिल्ने बैंक्वेट, बालबालिकाका लागि किड्स प्ले जोन तथा खुला वातावरणमा मनोरञ्जन गर्न सकिने ओपन लाउञ्ज सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो
उहाँले ती सुविधाहरूले पारिवारिक घुमफिर, शैक्षिक भ्रमण तथा सामाजिक–सांस्कृतिक कार्यक्रमलाई थप सहज र आकर्षक बनाउने विश्वास व्यक्त गर्नुभयो ।

जैनका अनुसार कम्पनीले मधेश प्रदेशकै ठूलो तथा अत्याधुनिक ‘वण्डर ल्याण्ड वाटर पार्क’ सञ्चालन गर्दै आएको छ । यसले प्रदेशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले परिवार, बालबालिका, युवा तथा आन्तरिक–बाह्य पर्यटकलाई लक्षित गरी सुरक्षित, स्वच्छ र मनोरञ्जनपूर्ण सेवा विस्तार गरिएको बताउनुभयो ।
खानपानमा विविधता थप्दै थकाली, भारतीय तथा अन्तर्राष्ट्रिय परिकारसँगै मिथिला क्षेत्रको परम्परागत ‘मिथिला थाली’को व्यवस्था गरिएको जनाइएको छ । हरियाली वातावरणमा भोजनको आनन्द लिन सकिने गार्डेन रेष्टुरेन्ट थपिएको कम्पनीले जनाएको छ ।
पर्यटकका लागि सफा, सुविधासम्पन्न तथा आकर्षक आवासको व्यवस्था गरिएको उल्लेख गर्दै कम्पनीले सेवा गुणस्तर र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेको जनाएको छ ।
जानकी फन पार्कले आगामी दिनमा थप सेवा विस्तार गर्दै मधेश प्रदेशकै प्रमुख मनोरञ्जनात्मक गन्तव्यका रूपमा स्थापित हुने लक्ष्य लिएको छ । सोहीअनुसार दैनिक रूपमा सांगीतिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा कन्सर्ट आयोजना गर्दै आएको प्रबन्ध निर्देशक जैनले बताउनुभयो ।


