निर्वाचन आचारसंहित विपरित ढल्केवरको पार्कमा झुण्डयाइएको दलका झण्डा हटाइयो

|

विजयकुमार साह

ढल्केवर, वैशाख १७ गते । निर्वाचन आचारसंहिता विपरित धनुषाको ढल्केवरस्थित सार्वजनिक स्थानमा झुण्ड्याइएको राजनीतिक दलको झण्डा हटाइएको छ । शनिबार मिथिला नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले प्रहरीसँग समन्वय गरेर ढल्केवरस्थित शहिद पार्कको चारैतिर झुण्ड्याइएको विभिन्न राजनीतिक दलको झण्डा हटाइएको हो ।

निर्वाचन अधिकृत दीपक धितालले निर्वाचन आचारसंहित विपरित सार्वजनिक स्थानमा राखिएको झण्डाहरु हटाइएको बताउनुभयो । सशस्त्र, जनपद र म्यादी प्रहरीसँग समन्वय गरेर सो झण्डाहरु हटाइएको जानकारी दिनुभयो । निर्वाचन अधिकृत धितालले विद्यालय, मन्दिरलगायत सार्वजनिक स्थानमा पार्टीको झण्डा राख्न नपाइने निर्वाचन आचारसंहिताले तोकेको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहित विपरित कहीँ कतै त्यस्ता झण्डा राखिएको छ भने त्यो पनि व्यवस्थापन गरिने जानकारी दिनुभयो ।

मिथिला नगरपालिकामा निर्वाचन आचारसंहिता पालना गराउन स्थानीय तहको राजनीतिक दलका प्रतिनिधि बोलाएर जानकारी गराएको पनि निर्वाचन अधिकृत धितालले भन्नुभयो । निर्वाचन आयोगले कुनै पनि सार्वजनिक स्थानमा कुनै पनि राजनीतिक दलको झण्डा राख्न नपाइने निमय लगाएको छ । ढल्केवरस्थित पार्कमा नेपालका प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत नेपालका प्रमुख राजनीतिक दलका चुनाव चिन्ह अंकति झण्डा झुण्ड्याइएको थियो ।

निर्वाचन आचारसंहितामा राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न भनिएको छ । यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै उम्मेदवारलाई कारबाही गर्ने नियम रहेको छ । यस्तै निर्वाचन सम्बन्धी दलको भेला, कार्यक्रम, जुलुसमा दलको झण्डा, चिन्ह अंकित झोला, क्याप, गम्झा, मास्क लगायत प्रयोग गरेमा सम्बन्धित ब्यक्ति नै कारवाहीमा पर्ने सम्मको नियम रहेको निर्वाचन आयोगको आचारसंहितामा उल्लेख छ । गोरखापत्र अनलाइनबाट