
ढल्केवर, धनुषा
धनुषाको मिथिला नगरपालिका–४ पुष्पवलपुरमा वडा अध्यक्षका उम्मेदवार बिष्णु खदाललाई स्थानीयवासीले पैसाको माला लगाएर स्वागत गरेको छ । नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवारी दिएका तथा निर्वतमान वडा अध्यक्षसमेत रहेका खदाललाई घरदैलो कार्यक्रम क्रममा मधुवासका स्थानीयवासीले पैसाको माला लगाएर स्वागत गरेको हो ।
मधुवासावासीले उनको जित सुनिश्चिताको कामना गर्दै पाँच र दश रुपैयाँको नोटले उनिएको माला लगाइदिएका थिए । आउँदो ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनअन्तर्गत जनतासँग मत माग्न वडा अध्यक्षका उम्मेदवार खदालले सोमबार घरदैलो अभियान गरेका थिए । घरदैलो कार्यक्रममा नेकपा एमालेबाट मिथिला नगरपालिकाको मेयरका उम्मेदवार राजाराम महतो उपमेयर सुनिता सिंह बुढाथोकीलगायत वडासदस्यका उम्मेदवारले जनतासँग मत मागेका थिए ।
घरदैलो कार्यक्रममा पार्टीको स्थानीय नेताकार्यकर्ता तथा समर्थकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।