
ढल्केवर, धनुषा
स्थानीय तह निर्वाचन नजिकियसँगै चुनावी सरगर्मी बढिरहेको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरु यतिबेला चुनावी अभियानमा व्यस्त देखिन्छन् । हरेक टोल, चिया पसल, चौतारो, समाजिक सञ्जाल र घर–घरमा चुनावी बहसले प्राथमिकता पाएको छ ।
देशभरका सबै स्थानीय तहका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएसँगै निवाचन आयोगले चुनाव चिन्हसमेत प्रदान गरिसकेको छ । यतिबेला सबै स्थानीय तहका उम्मेदवारहरु आ–आफ्नो चुनाव चिन्ह र घोषणापत्र लिएर घरदैलो अभियानमा व्यस्त छन् । विभिन्न दलहरुबाट उम्मेदवारी दिएकाहरु अहिले गाउँ–गाउँमा पुगेर घरदैलो अभियान चलाएर भोट मागिरहेका छन् ।
यसै सन्दर्भमा धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेका राजाराम महतोसँग गतिलो खबरका लागि गरिएको कुराकानी प्रस्तुत छ ।
मिथिला नगरपालिकामा तपाईँको उम्मेदवारी किन ?
समग्र विकास हरेक समस्याको समाधान तथा जनताको आवश्यकता व्यवस्थापन गरी सुख दुःखमा सहयात्रा गर्नका लागि मेरो उम्मेदवारी हो ।
चुनावी अभियानलाई कसरी अगाडि बढाइरहनु भएको छ ।
पार्टीका अग्रज नेता, कार्यसमितिका साथीहरु एकतावद्ध भई जिम्मेवारी बाँडफाँड गरी चुनावी अभियानमा नियमित अगाडि बढिरहेका छौं ।
चुनाव जित्नका लागि कतिको चुनौतीको रुपमा लिनभएको छ ।
निर्वाचन हो चुनौती भन्ने त भइहाल्छ नि । कुनै पनि कुरालाई सामान्यरुपमा लिनु हुन्न तर मिथिला नगरपालिकामा यो भन्दा पहिले पनि एमाले पार्टी एक्लै चुनाव जितेको थियो । एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका निर्वतमान मेयर हरिनारायण महतोले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, कृषि क्षेत्रलगायतका क्षेत्रमा निकै राम्रा काम गरेकाले यस पटक पनि जित्नेमा ढुक्क छौं ।
चुनाव जित्ने आधारहरु के–के हुन् त ?
चुनाव जित्ने आधारहरु भन्नुहुन्छ भने म कुनै सार्वजनिक पदमा नभएपनि थुप्रै विकासका कामहरु गरेको छ । ढल्केवरमै करोडभन्दा बढीको लागतमा धर्मशाखा निर्माण गरेको छु । आँखा अस्पताललाई जग्गा दान गरेको छु । यसलगायत थुप्रै संघसस्था तथा विपन्नलाई सहायता प्रदान गर्दैआएको छु । र अघि पनि भनि हाले मिथिला नगरपालिकाको नेतृत्व एमाले पार्टीले नै गरेको थियो ।
२०७४ को निर्वाचन जितेपछि हाम्रो प्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकासका काम गर्नुभएको छ । त्यसमाथि मैले विगत दश वर्षदेखि निरन्तर समाज सेवाले गर्दै आएको छु । हाम्रा उम्मेदवारहरु पनि कर्मठ इमान्दार र विकासप्रति चिन्तनशिल भएकाहरु छन् । यही नै चुनाव जित्ने आधारहरु हुन् ।
चुनाव जितेपछि तपाईँको प्राथमिकतामा के–के रहन्छ र के परिवर्तन गर्नुहुन्छ ?
सर्वप्रथम त यहाँका जनताको इच्छा आकांक्षाअनुसार समग्र क्षेत्रको विकास गर्छु । हाम्रो यो मिथिला नगरपालिका मधेस प्रदेशको मध्य भागमा पर्दछ । शहरको रुप लिँदै गएको यस ठाउँलाई विकसित शहरको रुपमा परिणत गर्ने खालको विकास गर्छु । यहाँका जनतालाई रोजगारी, युवा व्यवस्थापन, कृषिमा आधुनिकीरण, शिक्षा, स्वास्थ्य, सडकलगायत समग्र क्षेत्रको विकास गर्छु ।
चुनावी अभियानमा मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ।
मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । यहाँको समाजिक, कृषि, सिँचाई, स्वास्थय, शिक्षा लगायतका विभिन्न समस्याहरु देखाउनु भएको छ । अब तपाईँबाट धेरै आशा गरेका छौं भन्दै तपाईँलाई नै जिताउँछौ भनेका छन् ।
अन्तिममा तपाईँ मतदातालाई के भन्न चाहनुहुन्छ ?
मतदाताहरुले २०७४ सालको चुनावमा हाम्रै पार्टीलाई भोट दिएर जिताएर काम गर्ने मौका दिनुभयो । यो पटक पनि सेवा गर्ने मौका दिन म मिथिला नगरवासीसँग अनुरोध गर्दछु । निर्वतमान हाम्रा जनप्रतिनिधिबाट कहीँ कतै काम हुन बाँकी होलान् अब म त्यसलाई पुरा गर्ने छु । हामी तपाईँहरुको समस्या समाधान गर्ने, स्थानीय तहबाट हुने आयोजना तथा विकासको काम गर्ने छौं । तपाइको समस्या हामी समाधान गर्छौं । भोट दिएर जिताउनुहोस् ।