समग्र विकासँगै शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउँछौं : उपप्रमुख उम्मेदवार बुढाथोकी

|

स्थानीय तह निर्वाचन नजिकियसँगै चुनावी सरगर्मी बढिरहेको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरु यतिबेला चुनावी अभियानमा व्यस्त देखिन्छन् । हरेक टोल, चिया पसल, चौतारो, समाजिक सञ्जाल र घर–घरमा चुनावी बहसले प्राथमिकता पाएको छ ।

यतिबेला सबै स्थानीय तहका उम्मेदवारहरु आ–आफ्नो चुनाव चिन्ह र घोषणापत्र लिएर घरदैलो अभियानमा व्यस्त छन् । विभिन्न दलहरुबाट उम्मेदवारी दिएकाहरु अहिले गाउँ–गाउँमा पुगेर घरदैलो अभियान चलाएर भोट मागिरहेका छन् ।

यसै सन्दर्भमा मिथिला नगरपालिका वडा नं. ९ निवासी सुनिता सिंह बुढाथोकी २०४५ सालदेखि नेकपा एमालेको कार्यकर्ता भएर राजनीति क्षेत्रमा सक्रिय छिन् । विद्यार्थी उमेरदेखि नै नेकपा एमाले संगठन सुदृढ गर्दै निरन्तर पार्टीको सेवा गर्दै आएकी बुढाथोकी एमएड पुरा गरेर पोल्टिक साइन्समा अध्यनरत छिन् । यही ३० गते हुन लागेको स्थानीय निर्वाचनमा धनुषाको मिथिला नगरपालिकाको नेकपा एमालेबाट उपप्रमुखको उम्मेदवार हुन् । शिक्षित तथा योग्य उम्मेदवारको रुपमा परिचित सुनिता सिंह बुढाथोकीसँग गतिलो खबरका लागि गरिएको कुराकानी प्रस्तुत छ ।

उप प्रमुखमा तपाईँको उम्मेदवारी किन ?
म राजनीतिक हिसाबले २०४५ सालदेखि नै विद्यार्थी राजनीति सुरु गरेर पार्टीको शिक्षक संगठनलाई सुदृढ तुल्याउँदै धनुषा–काठमाडौं सम्पर्क मञ्चको सदस्य भएर राजनीति यात्रालाई अगाडि बढाउँदै लगेको छु । अब राजनीतिकरुपमा सार्वजनिक प्रतिनिधिको रुपमा आउनुपर्छ भनेर उपप्रमुख पदमा उम्मेदवारी दिएको हुँ । मेरो उम्मेदवारी केवल मेरो मात्रै उम्मेदवारी होइन् मिथिला नगरपालिकाको सम्पूर्ण महिलाको उम्मेदवारी हो । र शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्छ भनेर पनि मेरो उम्मेदवारी हो । साथै समग्र विकास हरेक समस्याको समाधान तथा जनताको आवश्यकता व्यवस्थापन गरी सुख दुःखमा सहयात्रा गर्नका लागि मेरो उम्मेदवारी हो ।

चुनावी अभियानलाई कसरी अगाडि बढाइरहनु भएको छ ?
घरदैलो अभियानमा लागेका छौं । मतदाता शिक्षा कार्यक्रम पनि अगाडि बढाएका छौं । पार्टीका अग्रज नेता, नगर कार्यसमिति, वडा कार्यसमिति र टोल समितिका साथीहरु एकतावद्ध भई जिम्मेवारी बाँडफाँड गरी चुनावी अभियानमा नियमित अगाडि बढिरहेका छौं ।

चुनौती कतिको छ ?
निर्वाचन हो चुनौती भन्ने त भइहाल्छ नि । कुनै पनि कुरालाई सामान्यरुपमा लिनु हुन्न तर मिथिला नगरपालिकामा यो भन्दा पहिले पनि एमाले पार्टी एक्लै चुनाव जितेको थियो । एमालेबाट निर्वाचित जनपतिनिधिले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, कृषि क्षेत्रलगायतका क्षेत्रमा निकै राम्रा काम गरेकाले यस पटक पनि जित्नेमा ढुक्क छौं ।

चुनाव जित्ने आधारहरु के–के हुन् त ?
चुनाव जित्ने आधारहरु भन्नुहुन्छ भने म कुनै सार्वजनिक पदमा नभएपनि शिक्षा क्षेत्रमा थुप्रै कामहरु गरेको छु । र यसअघि पनि भनि हाले मिथिला नगरपालिकाको नेतृत्व एमाले पार्टीले नै गरेको थियो । २०७४ को निर्वाचन जितेपछि हाम्रो प्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य, खानेपानीलगायत विकासका काम गर्नुभएको छ । त्यसमाथि मैले विगत २३ वर्र्षदेखि निरन्तर समाज सेवाले गर्दै आएको छु । हाम्रा उम्मेदवारहरु पनि कर्मठ इमान्दार र विकासप्रति चिन्तनशिल भएकाहरु छन् । यही नै चुनाव जित्ने आधारहरु हुन् ।

चुनाव जितेपछि तपाईँको प्राथमिकतामा के–के रहन्छ र के परिवर्तन गर्नुहुन्छ ?
सर्वप्रथम त यहाँका जनताको इच्छा आकांक्षाअनुसार समग्र क्षेत्रको विकास गर्छु । हाम्रो यो मिथिला नगरपालिका मधेस प्रदेशको मध्य भागमा पर्दछ । शहरको रुप लिँदै गएको यस ठाउँलाई विकसित शहरको रुपमा परिणत गर्ने खालको विकास गर्छु । यहाँका जनतालाई रोजगारी, युवा व्यवस्थापन, कृषिमा आधुनिकीरण, शिक्षा, स्वास्थ्य, सडकलगायत समग्र क्षेत्रको विकास गर्छु ।
चुनावी अभियानमा मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ।
मतदाताहरुबाट सकारात्मक प्रतिक्रिया पाएका छौं । यहाँको समाजिक, कृषि, सिँचाई, स्वास्थय, शिक्षा लगायतका विभिन्न समस्याहरु देखाउनु भएको छ । अब तपाईँबाट धेरै आशा गरेका छौं भन्दै तपाईँलाई नै जिताउँछौ भनेका छन् ।

अन्तिममा तपाईँ मतदातालाई के भन्न चाहनुहुन्छ ?
मतदाताहरुले २०७४ सालको चुनावमा हाम्रै पार्टीलाई भोट दिएर जिताएर काम गर्ने मौका दिनुभयो । यो पटक पनि सेवा गर्ने मौका दिन म मिथिला नगरवासीसँग अनुरोध गर्दछु । निर्वतमान हाम्रा जनप्रतिनिधिबाट कहीँ कतै काम हुन बाँकी होलान् अब म त्यसलाई पुरा गर्ने छु । हामी तपाईँहरुको समस्या समाधान गर्छौं । स्थानीय तहबाट हुने आयोजना तथा विकासको काम गर्नेछौं । तपाइको समस्या हामी समाधान गर्छौं भन्दै पार्टीबाट नगर प्रमुख पदका उम्मेदवार राजाराम महतोसहित सम्पूर्ण उम्मेदवालाई भोट दिएर जिताउन अनुरोध गर्न चाहन्छु ।