
महोत्तरीमा एक क्रसर व्यवसायीको शंकास्पद मृत्यु भएको छ । जिल्लाको भङ्गहा नगरपालिका–४ जमुनियास्थित रातु नदी किनारमा सञ्चालित जय श्री हनुमान वालुवा वासिङ्ग क्रसर उघोगका सञ्चालक मिथिला नगरपालिका–२ बस्ने ३९ वर्षिय दिनेश महतोको शंकास्पद मृत्यु भएको हो ।
महोत्तरी प्रहरीका अनुसार महतोको शव जलेको अवस्थामा फेला परेको हो । ओछ्यानमा जलिरहेको अवस्थामा उनको शव क्रसर भएकै ठाउँको घरमा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे वास्तविक खुल्न नसकेपनि करेन्ट लागेर महतोको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।
स्थानीयले भने महतोलाई जलाएर हत्या गरेको दावी गरेका छन् । दिउँसो करिब २ बजे जलिरहेकै अवस्थामा भङ्गगा चौकीबाट खटिएका प्रहरीले दमकलको सहायताले आगो नियन्त्रणमा लिएका थिए । महतो पाटरनसीपमा क्रसर उधोग सञ्चालन गरेको थिए ।