जसपा–माओवादी गठबन्धनका वडा अध्यक्षका उम्मेदवारले गरे काँग्रेसका उम्मेदवारलाई समर्थन

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिका वडा नं. ४ मा जनता समाजवादी र नेकपा माओवादी गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवारले काँग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् ।

जित्न सक्ने अवस्था नदेखेपछि जसपा–माओवादी गठबन्धनका वडा अध्यक्षका उम्मेदवार लक्ष्मण महतोसहित सदस्य पदका उम्मेदवारहरुले नेपाली काँग्रेस पदका उम्मेदवार चन्द्रबहादुर बुलनलाई समर्थन गरेका हुन् ।

मंगलबार पुष्पवलपुरस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यक्रमा उनीहरुले काँग्रेसका उम्मेदवार बुलनलाई समर्थन रहेको घोषणा गरे ।

काँग्रेसका उम्मेदवारहरुलाई समर्थन गरेसँगै गठनबन्धनका उम्मेदवार महतोले अध्यक्षसहित सदस्य पदमा काँग्रेसलाई मतदान गर्न गठबन्धनका नेताकार्यकर्तालाई आग्रहसमेत गरे । आफू जित्न नसक्ने अवस्था रहेकाले गठबन्धनभित्रकै जित्न सक्ने पार्टीका उम्मेदवारलाई समर्थन गर्नुपर्ने गठबन्धनको निर्देशनअनुसार काँग्रेसका उम्मेदवार बुलनसहित सदस्यहरुलाई समर्थन गरेको महतोले बताए ।

सकेसम्म गठबन्धन दलभित्र चुनावी तालमेल गर्ने, सो गर्न नसकेको अवस्थामा गठबन्धन भित्रकै अलिक बलियो पार्टीलाई समर्थन गर्ने गठबन्धनको सर्कलुर छ । त्यहीअनुसार काँग्रेसका उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए ।

जसपा–माओवादीले समर्थन गरेपछि काँग्रेस उम्मेदवार बुलनल धन्यवाद ज्ञापन गर्दै अब आफ्नो जित सुनिश्चितजस्तै भएको दाबी गरे । उनले पार्टीको अवस्था बलियो, मतदाताको सहानुभूति र त्यसमा पनि जसपा–माओवादीको समर्थनले अब आफूहरु फराकिलो मतान्तरले जित्ने दाबी गरे।

कार्यक्रममा कांग्रेस धनुषाका कोषाध्यक्ष राजलाल महता, नेकाँ समर्थक भोगेन्द्र महतोलगायत जसपा, माओवादी काँग्रेस पार्टीका वडा सभापतिहरुले गठबन्धनबारे आ–आफ्नो धारणा राखेका थिए ।