
विजयकुमार साह
जनकपुर
मधेस प्रदेशमा सार्वजनिक निकायमा महिलाको सहभागिता, पत्रकारलाई समाचार सम्प्रषणमा चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वैशाख २० गते जनकपुरस्थित रामा होटलको सभाकक्षमा युरेपियन युनियनको आयोजनामा तथा आड्रा नेपाल, अक्सफाम, भिएसओ, सामुदायिक विकास पैरवी मञ्च नेपाल बर्दिवास महोत्तरी र सामुदायिक विकास केन्द्र रोतहटको सहकार्यमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा नेपालस्थित युरोपियनका राजदूत नोना डेप्रेज, ईयूका राजनीतिक अधिकारी लिसा शाफ्रिक, ईयूका वरिष्ठ कार्यक्रम प्रबन्धक रञ्जनप्रकाश श्रेष्ठलगायत आद्र नेपाल, अक्सफाम, भिएसओ, आरडिसी नेपाल, सिडिएएफएनका प्रमुख तथा प्रतिनिधिहरु र स्थानीय सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा यस मधेस प्रदेशमा राजनीतिक, समाजिक, सरकारी तथा गैरसरकारीलगायत नीजि क्षेत्रमा महिलाहरुको निर्णायक भूमिका विषयमा महिलाहरुको सहभागिता तथा स्थानीय स्थरमा रहेर समाचार सम्प्रेषण गर्दै आएका सञ्चारकर्मीको चुनौतीका विषयमा छलफल भएको थियो ।
छलफलकै क्रममा स्थानीय तहको सरकार, सरकारी तथा गैरसरकारी, वित्तिय क्षेत्र तथा नीजि क्षेत्रहरुमा प्रमुख जिम्मेवार पदमा कमै महिलाहरुको सहभागिता भएको बारे उपस्थित सञ्चारकर्मीले जानकारी गराएका थिए । महिलाहरुलाई प्रोत्साहन गर्दै जिम्मेवारी दिएको खण्डमा उनीहरु जिम्मेवारी बहन गर्न सक्ने जानकारीसमेत गराइएको थियो ।
यस्तै देश संघीय संरचनामा गइसकेपछि देशको आर्थिक भार बढेको र जनअपेक्षा अनुसार संघीयता कार्यन्वयन नभएको उपस्थित सञ्चारकर्मी जानकारी गराएका थिए ।
यसैगरी नेपालस्थित युरोपियनका राजदूत नोनाले बेल्जियमको उदाहरण दिँदै भनिन बेल्जियमा संघीयता लागू भएको ४० वर्षपछि पूर्ण कार्यन्वयनमा आएको जानकारी दिँदै नेपालमा पनि संघीयता पूर्णरुपमा कार्यन्वयन हुन समय लाग्ने बताए ।