मिथिलामा तीन वडाको मतगणना सकिँदा तीन भिन्न दलका वडा उम्मेदवार निर्वाचित

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिकामा सोमबार बिहानसम्म तीनवटा वडाको मतगणना सम्पन्न भइसकेको छ । वडा नं. १, २ र ३ को मतगणना सम्पन्न भएको हो । सम्पन्न मतगणनाअनुसार तीनवटै वडामा तीन भिन्न राजनीतिक दलका उम्मेवादर निर्वाचित भएका छन् ।

वडा नम्बर १ मा नेपाली काँग्रेसबाट वडाध्यक्षमा जोगी महतो प्लानसहित निर्वाचित भएका छन् । जोगी ७७ मतान्तरले निर्वाचित भएका हुन् । नेपाली काँग्रेस मिथिला नगरपालिकाको नगर सभापतिसमेत रहेका जोगीेले ७३५ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी महतोले ६५७ मत पाएको छ ।

महतो निर्वाचित भएको वडा एमालेका मेयर उम्मेदवार राजाराम महतोको गाउँ हो । यस वडामा अधिल्लो पटक एमालेका लक्ष्मी महतो वडाध्यक्षमा विजयी भएका थिए ।

वडा नम्बर २ नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षमा बिहारी महतो निर्वाचित भएका छन् । बिहारी १३६ मतान्तरले निर्वाचित भएका हुन् । उनले एक हजार १२९ मत पाएका छन् । उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार मनोजकुमार सिंहले ९९३ मत पाएका छन् ।

नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्षमा निर्वाचित बिहारीले यसअघि नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । वडा नम्बर २ एकीकृत समाजवादीका केन्द्रय स्थायी सदस्य तथा मधेस प्रदेशका उधोग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतोको गृह वडा पनि हो ।

वडा नम्बर ३ मा नेकपा एमालेबाट वडाध्यक्षमा रामएकवाल महतो निर्वाचित भएका छन् । रामएकवाल १५० मतान्तरले निर्वाचित भएका हुन् । रामएकवाल यसअघि नेकपा माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उनले एक हजार ६९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका रामउद्गार महताले ९१९ मत पाएका छन् । वडा नं. ३ मा जम्मा दुई हजार ६१९ मत खसेको थियो ।