ढल्केवर, धनुषा
पोखराबाट जोमसोमका लागि उडेर सम्पर्कबिहिन भएको तारा एयरको बिमानमा धनुषाको मिथिला नगरपालिका–११ लोटाह बस्ने अन्दाजी वर्ष ४२ राजन गोले पनि सवार रहेको अपुष्ट खबर प्राप्त भएको छ ।
गोले नेकपा एकीकृत समाजवादी पार्टीका धनुषा जिल्ला सदस्य तथा धनुषा–काठमाडौं सम्पर्क मञ्चका पूर्व सचिव हुन् । उनी मामा माइजूसँग मुस्ताङ्गका लागि उडेका थिए ।
सम्पर्कबिहिन तारा एयरको बिमानको अवस्थाबारे भने सम्बन्धित निकायबाट सार्वजनिक भएको छैन । पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडान भरेको (९ एन एइटी) बिमान बिहान १० बजेर ११ मिनेटमा जोमसोम टावरसँग सम्पर्कमा आएको भए पनि त्यसपछि सम्पर्कविहिन भएको थियो ।
जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माले बिहान १० बजेर ११ मिनेटमा जोमसोम टावरमा सम्पर्क भएको भएपनि त्यसपछि सम्पर्क हुन नसकेको बताउनुभयो । पोखराबाट घोडेपानी माथिको आकाश हुँदै मुस्ताङको आकासमा प्रवेश गरेपछि धौलागिरी हिमालतर्फ मोडिएको भन्ने जानकारी आएको भएपनि अन्य कुनै जानकारी प्राप्त हुन नसकेको उहाँले जानकारी दिनुभयो ।
मुस्ताङको थासाङ गाउँपालिकाको लेते र टुकुचेको बीचमा पर्ने पहाड क्षेत्रबाट बिमान सम्पर्क बिहीन भएको थियो । बिमानमा चालकदलका ३ सदस्य, ६ विदेशी र १३ नेपाली गरी २२ जना यात्रु रहेको जोमसोम बिमानस्थलले जनाएको छ ।