तराई मधेशमा मनाइने पर्वमाथि केन्द्रित कविता तथा रचना वाचन कार्यक्रम

|

धनुषा, ढल्केवर । तराई मधेशमा मनाइने पर्वहरूको सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्वलाई उजागर गर्ने उद्देश्यले आइतबार ढल्केवरस्थित कोमल क्याफेमा कविता तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

मिथिला साहित्य प्रतिष्ठान ढल्केवरको आयोजनामा भएको कार्यक्रममा कवि विपीराज दाहालद्वारा लिखित तराई मधेशका पर्वसम्बन्धी कविता वाचन गरिएको थियो । कार्यक्रममा निरप्रसाद शर्मा, गणेश घिमिरे लगायतले कवि दाहालद्वारा रचित कविताहरू वाचन गर्नुभएको थियो । कवि दाहालले पनि आधा दर्जनभन्दा बढी मधेस–तराईका विभिन्न पर्वलाई केन्द्रमा राखेर रचिएका आफ्ना कविता तथा रचनाहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रममा अन्य सहभागीहरूले पनि पर्व, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित विभिन्न रचना प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै कवि विपीराज दाहालले तराई मधेशमा मनाइने प्रत्येक पर्वको छुट्टै पहिचान, दर्शन र सांस्कृतिक महत्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तराई मधेशमा मानिने पर्वहरूको एउटा छुट्टै र विशेष महत्व छ । मैले जतिजति यी पर्वहरूको बारेमा अध्ययन गरेँ, त्यति नै गहन पाएँ । चाहे ती लोकपर्व हुन् वा राष्ट्रिय पर्व, प्रत्येकको आफ्नै सुन्दर कथा र दर्शन छ ।”
उहाँले साहित्य र सिर्जनामार्फत मधेस–तराईका मौलिक पर्व, परम्परा र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पु¥याउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

आयोजक मिथिला साहित्य प्रतिष्ठानले यस्ता साहित्यिक कार्यक्रमले स्थानीय संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ । कार्यक्रममा साहित्यप्रेमी, स्रष्टा तथा स्थानीय व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।