यदुकूहा, धनुषा ।
धनुषाको सहीदनगर नगरपालिका–३, यदुकुहाका पूर्ववडाध्यक्ष नागेन्द्रप्रसाद मण्डल एक सातादेखि बेपत्ता अवस्थामा हुनुहुन्छ । गत आइतबार दिउँसो औषधि लिन जनकपुरधाम जान घरबाट निस्कनुभएका मण्डल त्यसयता सम्पर्कविहिन रहेको परिवारका सदस्यको भनाइ छ ।
पूर्ववडाध्यक्ष मण्डलकी भाउजू पार्वती मण्डलले देवर सम्पर्कविहिन बनेपछि घरपरिवारका सदस्य चिन्तामा रहेको बताउनुभयो । उहाँका अनुसार मण्डललाई दुई महिनादेखि राति निद्रा नलाग्ने समस्या थियो । उहाँ नियमित औषधि सेवन गर्दै आउनुभएको थियो । औषधि सकिएपछि जनकपुरधाम जान भन्दै मोटरसाइकल लिएर घरबाट निस्कनुभएको हो । त्यसपछि उहाँ घर फर्किनुभएको छैन र फोनमा समेत सम्पर्क हुन सकेको छैन ।
भाउजू पार्वतीले घरपरिवारमा कुनै विवाद वा मनमुटाव नभएको बताउँदै मण्डल सामान्य अवस्थामै औषधि लिन घरबाट निस्कएको जानकारी दिनुभयो । उहाँका अनुसार मण्डलले प्रयोग गर्ने मोटरसाइकल र हेल्मेट जनकपुरधामको पुलचोकस्थित घरमा सुरक्षित रहेको छ ।
छिमेकी दिपेन्द्र मण्डलले पूर्ववडाध्यक्ष मण्डल जनकपुर गएकै दिन रेल चढेर जयनगरतर्फ गएको सूचना प्राप्त भएको बताउनुभयो । उहाँको अचानक बेपत्ता भएको घटनाले स्थानीय स्तब्ध बनेको छ ।
इलाका प्रहरी कार्यालय यदुकुहाका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले पूर्ववडाध्यक्ष मण्डलको खोजतलास जारी रहेको बताउनुभयो । उहाँले बेपत्ता भएकै दिन भारतको जयनगर रेल स्टेशनमा जडान गरिएको सिसिटिभी क्यामरामा मण्डल देखिएको जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक घिमिरेका अनुसार मण्डलको मोबाइल फोनको अन्तिम लोकेसनसमेत जयनगर क्षेत्रमा देखिएको छ । उहाँले भन्नुभयो, “हामीले घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी गराइसकेका छौँ । जिल्लाको समन्वय खोजी भइरहेको छ । सीमा क्षेत्रमा रहेका सुरक्षा निकाय र मातहतका प्रहरी चौकीसँग समन्वय गरेर खोजतलासलाई निरन्तरता दिएका छौँ ।
मण्डल २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । २०७९ सालको स्थानीय तह निर्वाचनमा उहाँ पराजित हुनुभयो । हाल उहाँले जसपा परित्याग गरी स्वतन्त्र रूपमा सामाजिक गतिविधिमा सक्रिय रहेको स्थानीयको भनाइ छ । पूर्ववडाध्यक्ष मण्डल हाल जनता एकाइ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष रहेको स्थानीयले जनाएको छ ।

