विमान दुर्घटनामा मृत्यु भएका धनुषाका सातै जनाको अन्तिम सँस्कार काठमाडौंमा गरिने

|

ढल्केवर

विमान दुर्घटनामा मृत्यु भएका धनुषाका सात जनाको पार्थिव शरीरलाई काठमाडौंको स्वयम्भू आर्यघाटमा आज (बिहिबार) अन्तिम सँस्कार गरिने भएको छ ।

आइतबार पोखराबाट जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भीरमा दुर्घटना भएको थियो ।

विमान दुर्घटनामा दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा राजनकुमार गोल उहाँका बावु इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकमाया तामाङ छन् ।

मृतकहरुको अन्तिम सँस्कार गर्न मृतकका आफन्त तथा नातागोता काठमाडौं पुग्नुभएको छ । मृतकहरुको शव आफन्तलाइ आज जिम्मा लगाएपछि आजै अन्तिम सँस्कार गरिने मृतकमध्येका मकरबहादुर तामाङको ज्वाईँ मदन लामाले बताउनुभयो ।

शव बुभ्mन आफन्तहरु बिहान ११ बजे महराजगञ्जस्थित टिचिङ्ग अस्पताल पुग्नु भएको छ । शव बुझेपछि अन्तिम सँस्कार गरिने छ ।
मृतकहरुको घर स्थायी घर लोटा गाउँमा भएपनि उहाँहरु पछिल्लो समय काठमाडौंको मकलबारीस्थित आफ्नै घरमा बस्नुहुन्थ्यो । उहाँहरुको छोराबुहारीलगायत पारिवारिक सदस्यहरु मकलबारीमै बस्नुहुन्छ ।

अन्तिम सँस्कारमा मधेशका मन्त्री सहभागी हुने
विमान दुर्घटनामा मृत्यु भएका धनुषाका सात जनाको मृत्यु सँस्कारमा मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो सहभागी हुने भएको छ । उहाँ अन्तिम सँस्कारमा सहभागी हुन मङ्गलबार नै काठमाडौं पुग्नु भएको छ ।

मृतक परिवारसँग राजनीतिक तथा पारिवारिक सम्बन्धका कारण वनमन्त्री महतो अन्तिम सँस्कारमा सहभागी हुन काठमाडौं पुग्ने भएको बुझिएको छ ।

गाउँ अझै शोकमा
जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान सम्र्कबिहिन भएलगतै चिन्तित बनेको लोटा गाउँवासी विमान दुर्घटनामा गाउँको सात जना गुमाएको खबर शोकमग्न भएका स्थानीयवासी अझै शोकमा डुबेका छन् । – गोरखापत्र