लोटा गाउँमा अब गोले परिवारको सम्झना मात्रै बाँकी

|

                       विमान दुर्घटनामा मृत्यु भएका धनुषाका सातै जनाको अन्तिम सँस्कार गरियो

ढल्केवर, धनुषा

विमान दुर्घटनामा निधन भएका धनुषाका सात जनाको पार्थिव शरीरलाई काठमाडौंको स्वयम्भू आर्यघाटमा आज (बिहिबार) अन्तिम सँस्कार गरिएको छ ।

आइतबार पोखराबाट जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरे भीरमा दुर्घटना भएको थियो ।

विमान दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका राजनकुमार गोलसहित उहाँका बावु इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजू सुकमाया तामाङको निधन भएको थियो ।

मृतकहरुको अन्तिम सँस्कार तथा श्रद्धाञ्जली मृतकका आफन्त तथा नातागोता काठमाडौं पुग्नुभएको छ । मृतकहरुको शव आफन्तलाइ आज जिम्मा लगाएपछि आजै स्वयम्भूस्थित आर्यघाट अन्तिम सँस्कार गरिएको छ ।

मृतकहरुको घर स्थायी घर लोटा गाउँमा भएपनि उहाँहरु पछिल्लो समय काठमाडौंको मकलबारीस्थित आफ्नै घरमा बस्नुहुन्थ्यो । उहाँहरुको छोराबुहारीलगायत पारिवारिक सदस्यहरु मकलबारीमै बस्नुहुन्छ ।

मृतकहरुलाई श्रद्धाञ्जली अर्पण गर्न नेकपा एकीकृत समाजवादीको नेता झलनाथ खनाल आर्यघाट पुग्नुभएको थियो । उहाँले मृतकहरुको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

त्यसअघि नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपाल मृतकहरुको घर पुगेर पारिवारका सदस्यहरुलाई सान्त्वना दिनुभएको थियो ।

गाउँ अझै शोकमा
जोमसोम विमानस्थलका लागि पोखराबाट उडेको तारा एयरको विमान सम्र्कबिहिन भएलगतै चिन्तित बनेको लोटा गाउँवासी विमान दुर्घटनामा गाउँको सात जना गुमाएको खबर शोकमग्न भएका स्थानीयवासी अझै शोकमा डुबेका छन् ।
स्थानीयवासी प्रेमबहादुर कार्कीले भन्नुभयो, गाउँमा अब गोले परिवारको सम्झना मात्रै बाँकी छ ।