धनुषामा जरायोको सिङ्गसहित दुई जना पक्राउ

|

ढल्केवर, धनुषा

जरायोको सिङ्गसहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–३ वस्ने २० वर्षिय रितेशकुमार पाण्डे र धनुषाको जनकपुर उपमहानगरपालिका–२४ वस्ने २० वर्षिय सोनुकुमार पाण्डेलाई जरायोको सिंङ्गसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई बिहिबार जनकपुर उपमहानगरपालिका–२४ बाट पक्राउ गरिएको छ । अवैधरुपमा जरायोको सिङ्ग राखेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताए ।

उनीहरुले सिमेन्टको बोराभित्र लुकाइछिपाई राखेको अवस्थामा खैरो रङ्गको तीन सिङ्गे एक थान र कालो रङ्गको एक थान काटिएको जरायोको सिङ्ग बरामद भएको छ । प्रक्राउ परेकाहरुले प्रयोग गरेको ज ९ प २७३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेको दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालय धनुषामा शुक्रबार बुझाइएको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।