
ढल्केवर, धनुषा
५० औं विश्व वातावरण दिवसको अवसरमा धनुषाको धनुषाधाम नगरपालिका–६ हरिपुरस्थित हरिकुञ्ज सामुदायिक वन क्षेत्रको खाली जग्गामा वृक्षरोपण गरिएको छ ।
मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेश प्रदेश वन निर्देशनालय र डिभिजन वन कार्यालय धनुषाको आयोजनामा तथा मिथिला वाइल्ड लाइफ ट्रष्ट र जनकपुरधाम वन प्राविधिक समाजको सह–आयोजनामा सो ठाउँमा वृक्षरोपण गरिएको हो ।
मधेश प्रदेश सकारकार उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महताले जामुनको वृक्ष रोपेर वृक्षरोपणको सुरुवात गरेका थिए । वृक्षरोपण गर्नुअघि मन्त्री महतोले आयोजित कार्यक्रममा वायुप्रदुषण बढेको र पृथ्वीको तापक्रम पनि बढ्दै गएकाले वृक्षरोपणको विकल्प नरहेको बताए । उनले वृक्ष रोपे मात्र स्वच्छ अक्सिजन प्राप्त गर्न सकिने जानकारी दिए ।
मन्त्री महतोले जन्मदिनको अवसरमा गरिने फुजुल खर्चको सट्टा बिरुवा खरिद गरेर रोप्नु राम्रो हुने बताउँदै मृतकको सम्झनामा समेत बिरुवा रोपेर हुर्काउनु पर्ने धारणा राखे ।
कार्यक्रममा उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव बिशाल घिमिरेले हरिकुञ्ज सामुदायिक वन क्षेत्रको ३० हेक्टर जग्गामा ३५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा रोपिने बताए । उनले विश्व वातावरण दिवसको अवसमार आज एक हजार एक जामुनलगायत विभिनन प्रजातिको बिरुवा रोपिएको जानकारी दिए । सचिव बिशालले वृक्षरोपणको क्रम जारी नै रहने र वृक्षरोपण गरिएको स्थानमा तारजाली गरिने भने ।
यसैगरी कार्यक्रममा मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले पर्यावरण संरक्षणको क्षेत्रमा सहयोग गर्न तयार रहको बताए । उनले भने, धेरै पहिला बाक्लो रुख बिरुवा थियो । विनास भयो । विनास कसरी भयो त्यो खोज्नुभन्दा अव सुधार कसरी गर्ने तर्फ लाग्नुपर्ने भने ।
यस्तै, डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख सुनिलकुमार कर्णले पर्यावरण सुधारको काम सबैजना हातेमालो गरेर अगाडि बढनुपर्ने बताए ।
कार्यक्रममा वन प्राविधिक समाजका महासचिव सुरेश शर्माले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्याबाट निजात पाउन रुख बिरुवा रोप्न आवश्यक भएको बताए ।
वृक्षरोपण कार्यक्रममा मिथिला वाइल्ड लाइफ ट्रष्टका अध्यक्ष देवनारायण मण्डल, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, सामुदायिक वनका पदाधिकारी र स्थानीयवासी गरी चार सयजना भन्दा बढीको सहभागिता थियो ।