ढल्केवर कृषि बजार व्यवस्थापन समितिको अध्यक्षमा बुधेश्वर महतो चयन

|

ढल्केवर, धनुषा

धनुषाको ढल्केवरमा रहेको कृषि उपज बजार व्यवस्थापन समितिको अध्यक्ष बुधेश्वर महतो चयन भएको छ । महतो गोला प्रथाबाट बजार व्यवस्थापन समितिको अध्यक्षमा चयन भएको हो ।

बजार व्यवस्थापन समितिको निर्वाचनमा बुधेश्वर महतोले र रामपुकार महतो अध्यक्ष पदका उम्मेदवार थिए । दुबै उम्मेदवारले तीन–तीन मत प्राप्त गरेपछि गोलाप्रथाबाट नेतृत्व चयन गरिएको हो ।

बजार व्यवस्थापन समितिको निर्वाचन प्रक्रियाअनुसार व्यापारी समूहबाट तीन जना निर्वाचित सदस्य र किसान समूहबाट तीन जना निर्वाचित सदस्य र सम्बन्धित वडाध्यक्ष गरी सात सदस्य रहने प्रावधान छ । सात सदस्य समितिबाट अध्यक्ष चयन गर्ने निर्वाचत विधि रहेको छ ।

सो सात सदस्य समितिले अध्यक्ष चयन गर्न नसकेपछि अध्यक्ष छनौट गर्न मतदान प्रकृयामा अपनाइएको थियो । मतदानमा पनि दुवै उम्मेदवारको बराबरी मत खसेपछि गोलाप्रथाबाट बुधेश्वर अध्यक्ष बनेको हो ।

अध्यक्षमा चयन भएका बुधेश्वर महतो नेपाली काँग्रेस धनुषा निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय सचिवसमेत हुन् ।