नेपाल पर्यटन बोर्डको आयोजना साता दिने कुकिङ्ग तालिम सञ्चालन

|

ढल्केवर, धनुषा

धनुषाको ढल्केवरमा कुकिङ्ग तालिम सञ्चालन भएको आज (सोमबार) तीन दिन पुगेको छ । ढल्केवरस्थित कोमल होटल शनिबारदेखि कुकिङ्ग तालिम सञ्चालनमा छ । एक सातासम्म चल्ने सो तालिममा मधेश प्रदेशबाट २० जना सहभागी छन् ।

युएनडिपि र होटल एसोशियसन नेपालको सहयोग तथा नेपाल पर्यटन बोर्डको आयोजनामा सात दिने कुकिङ्ग तालिम सञ्चालनमा छ । सो तालिमको उद्घाटन एक कार्यक्रमबीच होटल एशोसियशन नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष विनायक शाहले गरेको थियो ।

तालिम उद्घाटन कार्यक्रममा होटल एशोसियशन नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष शाहले तालिमबाट सफासुग्धर तथा सुरक्षित तवरले परिकार पकाउने प्राविधिक पक्षको ज्ञान प्राप्त हुने हुँदा प्रशिक्षकले सिकाएका कुरा ध्यानपूर्वक सिक्न तालिमका सहभागीहरुलाई आग्रह गरे ।

होटलको मेरुदण्ड नै खानाको परिकार र कर्मचारीको व्यवहार हो । मिठो खानेकुरा र कर्मचारीको राम्रो व्यवहारकै कारण होटललाई फाइदा पुग्छ । त्यसैले मिठो खानेकुार पकाउन र आकर्षक तरिकाले पस्कन सिकाउन नै यो तालिमको आयोजना गरिएको अध्यक्ष शाहले भने ।

होटल एशोसियशन नेपाल मधेश प्रदेशका अध्यक्ष विजय झुनझुनबालाको अध्यक्षतामा भएको सो तालिमको उद्घाटनको अवसरमा होटल एशोसियशन नेपालका केन्द्रीय कोषाध्यक्ष जयप्रकाश, होटल एशोसियशन नेपालका केन्द्रीय प्रशासनिक अफिसर लवकुमार कार्की, सेफ एशोसियशन अफ नेपालका केन्द्रीय अध्यक्ष श्याम लामा, महोत्तरीको बर्दिवासस्थित गौतम होटलका सञ्चालक हिरालाल गौतम र प्रशिक्षक सुवर्णमान कर्मचार्यको उपस्थित रहेको थियो ।

तालिममा मधेश प्रदेशका विभिन्न होटलका २० जना कर्मचारीको सहभागिता रहेको छ । उनीहरुलाई सेफ एशोसियशन अफ नेपालका केन्द्रीय अध्यक्ष श्याम लामा र सुवर्णमान कर्मचार्य प्रशिक्षण दिइरहेको छ ।