ढल्केवरमा सञ्चालित सात दिन कुक तालिम सम्पन्न

|

ढल्केवर, धनुषा

धनुषाको ढल्केवरमा सञ्चालित मधेश प्रदेश स्तरीय सात दिन कुक तालिम सम्पन्न भएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र नेपाल पर्यटन बोर्डको सहयोग तथा होटल व्यवसायी संघ मधेश प्रदेशको आयोजना ढल्केवरस्थित कोमल होटलमा सञ्चालित सात दिने कुक तालिम आज (बिहिबार) सम्पन्न भएको हो ।

तालिमका सहभागीहरुलाई मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गर्नुभयो । तालिममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट २० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा मन्त्री महतोले होटल तथा पर्यटन क्षेत्रको विकास गर्न मधेश प्रदेश सरकारले छिट्टै नै मधेश पर्यटन बोर्ड गठन गर्न लागेको बताउनुभयो । उहाँले गठन गरिने पर्यटन बोर्ड होटल तथा पर्यटन व्यवसायमा टेवा पु¥याउने किमिमको कार्यक्रमहरु समावेश गरिने पनि उहाँले जानकारी दिनुभयो ।

मन्त्री महतोले होटल व्यवसायमा कुकको धेरै महत्वपूर्ण भूमिका हुने हुँदा तालिममा सिकेका ज्ञानलाई सदुपयोग गर्दै मधशे प्रदेशको होटल व्यवसायमा आफ्नो सीप खर्चन तालिमका परिक्षार्थीलाई भन्नुभयो ।

कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले अपेक्षाअनुसार होटल तथा पर्यटन व्यवसाय फस्टाउन नसकेकोले यसप्रति मधेश सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

यस्तै, होटल व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष विजय झुनझुनबालाले कुक तालिम लिए पश्चात प्राप्त गरेको प्रमाणपत्रले विदेशमा मात्र होइन देशभित्रै पनि राम्रो जागिर पाउन सकिने बताउनुभयो । उहाँले मधेश प्रदेशमै राम्रा–राम्रा होटल सञ्चालनमा रहेको अझै खुल्ने क्रममा रहेकाले यहाँ पनि सहजै काम पाउन सकिने जानकारी दिनुभयो ।

तालिममा सफासुग्धर र पोषणयुक्त खानेकुरा कसरी पकाउने तरिकाका विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिम समापन कार्यक्रममा युएनडिपीका प्रतिनिधि मनिष लम्साल, नाथनका केन्द्रीय अध्यक्ष कोमल होटलका सञ्चालक प्रमोद साह, नेकपा एकीकृत समाजवादी पाटी मधेश प्रदेश सदस्य बबि महतो, मिथिला नगरपालिका वडा नं. ६ का वडाध्यक्ष नन्दकिशोर यादव, सेफ एशोसियशन अफ नेपालका केन्द्रीय अध्यक्ष तथा प्रशिक्षक श्याम लामा र सुवर्णमान कर्मचार्यको उपस्थित रहेको थियो ।