‘चुरे संरक्षण संरक्षण सबैको दायित्व’

|

“चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई, चुरे रहे पानी पानी रहे हामी” मूल नाराका साथ चुरे संरक्षण आजको आवश्यकता जिम्मेवारी कसको र कसरी विषयमा अन्तरक्रिया तथा मिडिया बहस कार्यक्रम शनिबार महोत्तरीको बर्दिबास सम्पन्न भएको छ ।

उद्योग पर्यटन तथा वन मन्त्रालय मधेश प्रदेश, राष्ट्रपती चुरे तराई मधेश संरक्षण विकास समिति, चुरे उत्थानशिल आयोजना बर्दिबास महतो, सामुदायिक विकास तथा पैरवी मञ्च बर्दिवास, सेभ द चिल्ड्रेन बर्दिबास, जनकपुर वन प्राविधिक समाज र मिथिला वाइल्ड लाइफ ट्रष्टको संयुक्त आयोजना अन्तरक्रिया कार्यक्रम भएको थियो ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिति मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले चुरे संरक्षण सबैको दायित्व भएको बताउनुभयो । कुनै एउटा व्यक्ति वा कुनै एउटा मन्त्रीले चाहेर पनि चुरे संरक्षण गर्न सक्दैन तसर्थ तीनै तहको सरकार, पर्यावरण अभियन्यता, सञ्चारकर्मी र जनसमुदायको जनसहभागिता हुनुपर्ने उहाँले जानकारी दिनुभयो ।

अहिले हामीले चुरे जोगाउन सकेनौं भने आउने पुस्ताले ठूलै विपत्तिको सामाना गर्नुपर्ने बताउँनु हुँदै मन्त्री महतोले अन्नको भण्डार भनेर चिनिने तराईका खेतीयोग्य जमिन मरुभूमि बन्ने र पानी अभावलगायत थुप्रै समस्या सृजना हुने भन्नुभयो ।

उहाँले चुरे विनास तथा क्षयीकरण रोक्न चुरे क्षेत्रमा वृक्षरोपण, खहरे नियन्त्रण र तटबन्ध निर्माण जस्ता कार्य गर्न सबै सरोकारबाला निकाय एकजुट भएर लाग्नुपर्ने भन्नुभयो ।

यस्तै चुरे विज्ञ डाक्टर विजयकुमार सिंहले विगत २० वर्षको अवधिमा तराईका नदीनालाको सतह तीन मिटर माथि उठिसकेको बताउनुभयो । उहाँले चुरे क्षेत्रबाट बगेर आउने गिट्टीबालुवा र माटोका कारण तराईका खोलाको सतह माथि उठेदै गएको जानकारी दिनुभयो ।

चुरे विज्ञ सिंहले विस दश वर्षअघिको तुलनामा मौसममा पनि धेरै परिवर्तन भएकोे बताउनुहँदै उहाँले तराईको भू–भागमा पानीको सतह दिनप्रतिदिन घटदै गइरहेकाले भविष्यमा यसले ठूलै समस्या सृजना गर्ने हुँदा अहिलेका पुस्ताले चुरे तथा पर्यावरण संरक्षणको क्षेत्रमा सबैजना गम्भीर भएर लाग्नुपर्ने भन्नुभयो ।

चुरे विज्ञ सिंहले ‘चुरे संरक्षण आजको आवश्यक्ता– जिम्मेवारी कसको र कसरी ? शीर्षकमा कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो ।