
ढल्केवर, धनुषा
धनुषाको लालगढमा निर्माण गर्न लागिएको फुटबल मैदानको जग्गा वन क्षेत्रमा परेपछि काम रोकिएको छ । सोमबार मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले सो खेलकुद मैदान निर्माण गर्न शिलान्यास गरेको थियो ।
मन्त्री महतोले सो खेलकुद मैदान निर्माण गर्न आफ्नो संसदीय कोषबाट ५० लाख रुपियाँ छुट्टयाइएको छ । मन्त्रीले शिलान्यास गरेको केही बेरमै खेलकुद मैदान निर्माण गर्न जेसिबी लगाएर डाँडा भत्काउन थालेपछि वन उपभोक्ता समिति र वन कर्मचारीले काम रोकेको स्थानीयवासीले बताएका छन् । सो जग्गा लालगढस्थित कुष्ठरोग अस्पतालदेखि दक्षिणमा पर्दछ ।
खेलकुद मैदान निर्माण गर्न लागिएको जग्गा धनेश्वरी महिला सामुदायिक वन उपभोक्ता समितिभित्र पर्दछ । नियमित गस्तीको क्रममा वन कर्मचारीले डाँडा भत्कार फुटबल मैदान बनाउन लागेको देखेपछि तत्कालै वन उपभोक्ता समितिलाई पत्रचार गरेका थिए । पत्रमा वनको जग्गामा निर्माण कार्य, ढुङ्गा, माटो, उत्खनन गर्ने काम निषेध गरिएको अवस्थामा त्यहाँ के कसरी खेलकुद मैदान निर्माण भइरहेको सम्बन्धमा जानकारी माग गरेपछि उपभोक्ता समितिका पदाधिकारीले तत्कालै काममा रोक लगाएका थिए ।
सो ठाउँमा फुटबल मैदान निर्माण गरिए एक सयभन्दा बढी खयरका रुख र बाँस घारी कटान हुने तथा वनको जग्गा अतिक्रमण हुने देखेर वन कर्मचारीको सहयोगमा काम रोकेको वन उपभोक्ता समितिका पदाधिकारीले बताए ।
यता फुटबल मैदान निर्माण समितिका अध्यक्ष दुर्गाबहादुर थापाले फुटबल मैदान निर्माण नगर्ने बताए । विवाद सिर्जना भएपछि फुटबल मैदान नबाउने निर्णयमा पुगेको उनले जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार अहिले निर्माण गर्न लागिएको जग्गा २१ वर्ष अघि नै तत्काल गाविस छदै खेलकुद मैदानका लागि छुट्टयाइएको थियो । त्यतिखेर यो जमिनमा खाली थियो । पहिरो र खोल्सी नियन्त्रण गर्न खयरलगायत बिरुवा र बाँस पछिबाट रोपिएको छ ।
उनले यहाँ फुटबल मैदान बनाउदा पनि रुखबिरुवाको खासै क्षति नहुने बताउँदै दुई–तीन थान स–साना रुख र केही बाँस घारी मात्र काट्ने अवस्था आउने भने । यहाँ ईटाको पर्खाल लगाउने योजना थियो । जसले गर्दा नजिकै रहेको खानेपानीको वाललाई टेको पनि हुन्थ्यो र वर्षाको पानी गाउँ पस्नबाट रोकिन्थ्यो, अध्यक्ष थापाले सुनाए ।