
विजयकुमार साह
ढल्केवर, असार ७ गते ।
धनुषाको ढल्केवरस्थित पर्यटन क्षेत्र मिथिला सागरमा एउटा निलगाई दाम्लोमा बाँधेर घरपालुवा जनावर जस्तै पालिएको छ । घरपालुवा जनावर गाईभैंसी जस्तै निलगाईलाई घाँसपात ल्याएर खुवाउने, चराउन लैजाने र गोठमा राख्ने गरिएको छ ।
एक वर्षअघि मिथिला सागर नजिकैको झाडीमा भर्खर जन्मिएको अवस्थामा निलगाईको बाच्छो भेटिएको थियो । अहिले सो निलगाईलाई जङ्लमा छोडेर आउँदा पुनः त्यहीँ ठाउँमा फर्केर आउने गरेको छ ।
जङ्गलबाट पनि फर्कर आएपछि दाम्लोमा बाँधेर पालनपोषण गरिरहेको मिथिला सागर संरक्षण समितिका सदस्य देवराज घिमिरेले बताउनुभयो । हुर्काएर जङ्लमा छोड्ने उद्देश्यले उद्दार गरी ल्याइएको निलगाईलाई दुई महिनासम्म गाईभैंसीको दुध खुवाएर हुर्काएको उहाँले जानकारी दिनुभयो ।
वन्यजन्तु वस्ने बासस्थान र आहार मासिदै गएपछि निलगाई, बँदेल र बाँदरलगायतका वन्यजन्तु मानववस्ती प्रवेश गरिरहेको छ । मानववस्ती प्रवेश गरेका वन्यजन्तुले खेतको अन्नबाली खाएर नोक्सान गर्न थालेपछि थुप्रै बँदेल मारिएको छ । निलगाई र बाँदर मानवको स्वभावसँग अभ्यस्त हुन थालेको छ । यस्तै रह्यो भने सबै वन्यजन्तु घरपालुवा जनावर नबन्ला भन्न सकिँदैन, सदस्य घिमिरेले भन्नुभयो ।
मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोले वन्यजन्तु घरपालुवा जनावरमा परिणत हुनु दुःखद् भएको बताउनुभयो । उहाँले वन्यजन्तुलाई वनमै रोक्न वन क्षेत्रमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
पहाड तथा जङ्गल क्षेत्रमा भइरहेको अवस्थित विकास निर्माण, मानववस्ती निर्माण र मानवले नै वन्यजन्तुको बासस्थान र आहारको विनास गर्न थालेपछि वन्यजन्तु तराईको मानववस्तीमा प्रवेश गर्न थालेको छ । यसले गर्दा वन्यजन्तु पनि विनासको क्रममा पुगेको छ । यसलाई रोक्न चुरे तथा पर्यावरण संरक्षणका क्षेत्रमा कार्य गरिरहेका संघसंस्था लगायत हामी सबैले वन्यजन्तुको सुरक्षित बासस्थानसँगै आहार पाइने बोट बिरुवा रोप्नु जरुरी भएको वनमन्त्री महतोले भन्नुभयो ।
सव डिभिजन वन कार्यालय धनुषाका निमित्त डिभिजलन प्रमुख सुरेश शर्माले घरपालुवा जनावरको पूर्वज जङ्गली जनावर भएपनि अव पनि वन्यजन्तु घरपालुवा जनावरको रुपमा परिणत हुनु मानव सभ्यतामाथि नै खतरा उत्पन्न हुने बताउनुभयो ।
मावन सभ्यतालाई टिकाइ राख्न रुखबिरुवा, जनावार, किरा फट्ङ्ग्रा, चराचुरुङ्गी सबै आवश्यक छ । चक्रीय प्रणालीमा कुनै एकको पनि विनास भयो भने मानव सभ्यता नै लोप हुने उहाँले जानकारी दिनुभयो ।
वन क्षेत्रमा पानीको मुहान समेत सुक्दै गएकाले वन्यजन्तु मानववस्तीमा प्रवेश गर्ने गरेको छ । वन्यजन्तुलाई वन क्षेत्रमा रोकिराख्न जिल्लाको राष्ट्रिय वन विभिन्न सामुदायिक वनमा आँप, कटहर, जामुनलगायत विभिन्न प्रजातिका फलफूलका विरुवा रोपिएकोे निमित्त डिभिजलन प्रमुख शर्माले भन्नुभयो । गोरखापत्र दैनिकबाट