नियमत बिद्यालय जाने विद्यार्थीको घरमा हरियो चिन्ह

|

विजय साह
ढल्केवर, धनुषा

धनुषाको सबैला नगरपालिकामा नियमित विद्यालय गइरहेका विद्यार्थीको घरमा हरियो चिन्ह र विद्यालय बाहिर रहेका बालबालिकाको घरमा रातो चिन्ह लगाउने अभियान सञ्चालन गरिएको छ ।

आसमान नेपालद्वारा सञ्चालित ‘निक शिक्षा दिअ’ कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गरिएको हो । उमेर पुगेर पनि विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था थाहा पाउन र त्यसको समाधान खोज्न यो चिन्ह लगाउने अभियान शुरु गरिएको आसमान नेपाल सबैला शाखाका प्रमुख परवेज आलमले बताउनुभयो । चिन्ह लगाउन कार्य लगभग सकिएको छ ।

उहाँले यस अभियानसँगै उमेर पुगेर विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म पु¥याउन भर्ना अभियानसमेत चलाइरहेको जानकारी दिनुभयो । नयाँ शैक्षिक सत्रमा १३८ जना त्यस्ता बालबालिकालाई विद्यालय भर्ना गराइएको जानकारी दिनुहुँदै प्रमुख आलमले ति विद्यार्थीलाई प्रोत्साहन गर्न शैक्षिक सामग्रीसमेत उपलब्ध गराएको भन्नुभयो ।

नगरपालिका क्षेत्रभित्रका ५७ जना विद्यार्थी पठनपाठनका लागि विद्यालय गइरहेको भएपनि नामाङ्कन भएको छैन । जन्मदर्तालगायतका आवश्यक कागजातहरु नभएका कारण ति विद्यार्थीहरुको नामाङ्कन हुन नसकेको हो ।

नामाङ्कनबाट बञ्चित अधिकांश विपन्न तथा दलितका छोराछोरी छन् । कतिपय अभिभावकको नागरिकता बन्न नसकेकाले त कतिपय अभिभावक बसाइसराई गरेर यहाँ आएपनि बसाइसराईको कागजात नभएर बालबालिकाको जन्मदर्ता बन्न नसकेको प्रमुख परवेजले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक टोल, एक शिक्षक परिचालन गर्दै अभ्यास पुस्तिका वितरण, ‘एकले पाँच जनालाई पढाउने’ र ‘घरमे स्कुल, अभिभावक बनु शिक्षक’ अभियान र हाजिरीजवाफ प्रतियोगिता गर्ने अभियान सञ्चालन भइरहेका छन् ।

आमा समूह, छात्रा सञ्जाल, बालक्लब गठन गरेर सामाजिक र आर्थिक रूपमा पछाडि परेर विद्यालय जान नपाएका बालबालिकालाई विद्यालयसम्म पु¥याउने, विद्यालयमा पनि निरन्तर अनुगमन र विभिन्न शैक्षिक गतिविधि हुँदै आएका छन् ।

सबैला नगरपालिकामा विगत डेढ दशक अघिदेखि आसमान नेपालले शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।
सबैला नगरपालिकामा २५ वटा सामुदायिक विद्यालय र ७ वटा मदरसा छन् । ति दुवै विद्यालयमा गरी करिब दश हजार विद्यार्थी अध्ययनरत रहेको सबैला नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रदिप मुखियाले बताउनुभयो ।