‘निक शिक्षा दिअ’ अभियान प्रभावकारी बन्दै

|

विजय साह
ढल्केवर, धनुषा

धनुषाको सबैला नगरपालिकामा विगत दुई दशकदेखि आसमान नेपाल नामक संस्थाकोे ‘निक शिक्षा दिअ’ परियोजना प्रभावकारी बन्दै गरएको देखिएको छ ।

सो संस्थाले ‘निक शिक्षा दिअ’ परियोजना अन्तर्गत नगरपालिकामा सञ्चालिन सामुदायिक तथा मदरसामा नयाँ शैक्षिक सत्र शुरु भएसँगै नयाँ विद्यार्थी भर्ना अभियानमा सहजीकरण गरेपछि विद्यालयमा विद्यार्थी भर्ना हुनेहरुको संख्या बढेको छ ।

विद्यालय जाने उमेर पुगेर पनि जनचेतना अभाव तथा विभिन्न समस्याका कारण विद्यालयसम्म पुग्न नसकेका त्यस्ता बालबालिकालाई ‘निक शिक्षा दिअ’ परियोजना अन्तर्गत विद्यालय भर्ना हुन सघाएपछि विद्यालयमा विद्यार्थीको संख्या बढेको हो ।

सबैला नगरपालिकामा २५ वटा सामुदायिक र १० वटा मदरसा छ । ति दुवैमा गरी १० हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको छ । सबैला नगरपालिकामा आसमान नेपालले शिक्षा, स्वास्थ्य र बालविवाह न्यूनिकरणको क्षेत्रमा कार्य गर्दै आएको छ ।

आसमान नेपाल सबैला शाखाका प्रमुख परवेज आलमले संस्थाद्वारा सञ्चालित ‘निक शिक्षा दिअ’ कार्यक्रम अन्तर्गत उमेर पुगेर पनि विद्यालय बाहिर रहेका १३८ जना बालबालिकालाई विद्यालय भर्ना गरिएको बताउनुभयो । अभिभावकमा चेतनाको कमी, आर्थिक समस्या र जन्मदर्ता अभावका कारण ति बालबालिका विद्यालयसम्म पुग्न सकेको थिएन । संस्थासँग आवद्ध कर्मचारीहरुले सचेतना अभियान र जन्मदर्ता बनाउन सहजीकरण गरिदिएपछि दिनभर खेलेर समय बिताउन त्यस्ता बालबालिका नियमित विद्यालय जान थालेको उहाँले जानकारी दिनुभयो ।


शाखा प्रमुृख आलमका अनुसार ५७ जना बालबालिका अझै पनि विद्यालयमा भर्ना हुनबाट बञ्चित रहेको छ । ति बालबालिका नियमित पठनपाठनका लागि नियमित विद्यालय गइरहेको भएपनि जन्मदर्ता अभावका कारण विद्यालय भर्ना हुन नपाएको हो । तर पनि ति बालबालिकालाइ किताब र कापीकलम उपलब्ध गराएर नियमित विद्यालय जाने वातावरण बनाइदिएको छ ।

कतिपय अभिभावकको नागरिकता नै नभएको त कतिपयले विवाह दर्ता नबनाएका कारण ति बालबालिको जन्मदर्ता बन्न सकेको छैन । सामान्य खर्च र सामान्य समय दिए सहजै बन्न सक्ने बहुमुल्य कागजात पनि अशिक्षाका कारण उहाँहरुले बनाउन सक्नुभएको छैन, शाखा प्रमुख आलमले भन्नुभयो ।

यस्तो महत्वपूर्ण कागजात बनाउनमा लापर्वाही गर्ने सीमान्तकृत समुदाय मुसहर जातीमा बढी देखिएको पनि उहाँले भन्नुभयो ।
सबैला नगरपालिका–१२, उतिमपुरका २७ वर्षिय सामदुलार सादाको छ वर्षीया जेठी छोरी रोशनीकुमारी सादा र पाँच वर्षीया पिंकीकुमार सादा गरी दुई सन्तान छन् । दुबैको जन्मदर्ता बनेको छैन् । जन्मदर्ता नभएपछि विद्यालयमा भर्ना गर्ने उमेर पुगिसकेको भएपनि सामदुलारका सन्तान दिनभर खेलेर समय बिताउने गरेका छन् ।

पतिपत्नीको नाता कायम गर्न विवाह दर्ता बनाउन नसक्दा छोरीहरुको जन्मदर्ता बनाउन नसकिएको सामदुलारले बताउनुभयो । उहाँले दलित र मुसहर समुदायका अधिकांश बालबालिका जन्मदर्ता अभावकै कारण आधारभूति शिक्षाबाट बञ्चित रहेको जानकारी दिनुभयो ।

सबैला नगरपालिकाको छकरोल, सिरकाटोल, ढालबज्जा, पर्साही, किरतपुरलगायत दलित समुदायका थुप्रै बालबालिका जन्मदर्ताकै कारण विद्यालय बाहिर रहेको दावी सामदुलारले गर्नुभयो । नागरिकता, जन्मदर्तालगायतका कागजात बनाउन यहाँका दलित समुदाय पहिलादेखि नै गम्भीर नबेकाले अहिले यो समस्या उत्पन्न भएको हो, उहाँले भन्नुभयो ।

यस्तै, सबैला नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रदिप मुखियाले जन्मदर्ता अभावका विद्यालय भर्ना नभएका बालबालिका पठनपाठनका लागि नियमित विद्यालय आइरहेको भएपनि विद्यालयबाट पाउने सेवा सुविधाबाट ति बालबालिका बञ्चित रहेको बताउनुभयो ।
उहाँले विद्यालयले निःशुल्क उपलब्ध गराउने किताब, पोशाक र खाजाबाट बञ्चित रहेको जानकारी दिनुभयो ।