मुस्मिल समुदायका छात्रछात्रा सामुदायिक विद्यालयमा बढे

|

मुस्लिम समुदायका छात्रछात्रा थप शिक्षा आर्जन गर्न सामुदायिक विद्यालय जान थालेका हुन् ।

विजय साह
ढल्केवर, धनुषा

धनुषाको गणेशमान चारनाथ र सबैला नगरपालिकामा पछिल्लो समय मुस्लिम समुदायका बालबालिका आधारभूत तथा माध्यमिक तहको शिक्षा प्राप्त गर्न सामुदायिक विद्यालयमा जान थालेका छन् ।

मदरसामा उर्दू र कुरान शिक्षासँगै तीन कक्षासम्म पढेका मुस्मिल समुदायका बालबालिका थप शिक्षा आर्जन गर्न सामुदायिक विद्यालयमा जान थालेका हुन् ।

यि दुवै पालिकामा आसमान नेपालद्वारा सञ्चालित ‘निक शिक्षा दिअ’ परियोजना सञ्चालनमा छ । परियोजना अन्तर्गत अभिभावक र विद्यालय उमेर समूहका बालबालिकालाई शिक्षाको महत्वबारे जानकारी गराएपछि मुस्लिम समुदायका शतप्रतिशत बालबालिका थप शिक्षा आर्जन गर्न अहिले सामुदायिक विद्यालयमा भर्ना भएको आसमान नेपाल सबैला शाखाका संयोजक परवेज आलमले बताए ।

उनका अनुसार सबैला नगरपालिकामा १० वटा मदरसा छन् । ति मदरसामा उर्दू र कुरान शिक्षासँगै तीन कक्षासम्म मात्र पढाई हुन्छ । त्यसमध्ये मदरसा शिक्षा पार गरेका थोरै मात्र विद्यार्थी उच्च शिक्षा हासिल गर्न माध्यमिक तहको विद्यालयमा भर्ना हुन्थ्यो । अधिकांश विद्यार्थी मदरसा शिक्षासम्म सीमित रहँदै आएको थियो ।

पछिल्लो समय मुस्लिम समुदायमा छोरीलाई पनि अनिवार्य विद्यालय पठाउने चलन बढेको भएपनि विभिन्न कारणले विद्यालय बाहिर रहेको मुस्लिम समुदयाका १३ जना बालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउन पहल गरेको संयोजक आलमले भने ।

मुलधारका शिक्षा प्राप्त नगरेसम्म शिक्षक, इन्जिनीयर, डाक्टर , वकिललगायत सरकारी सेवामा जागिर गर्न पाइँदैन । त्यसैले गर्दा पनि मुस्लिम समुदायमा गएर ‘आजको समयमा शिक्षा नै ठूलो धन हो’ र शिक्षा बिना जीवन अन्धकार जस्तै हुने भन्दै शिक्षाको महत्वबारे जानकारी गराएपछि यहाँका सबैजसो मुस्लिम समुदायले आफ्ना बालबालिकालाई विद्यालय पठाउन थालेको छ, संयोजक आलमले बताए ।

उहाँका अनुसार ‘निक शिक्षा दिअ’ परियोजनामार्फत एक टोल, एक शिक्षक परिचालन गर्दै अभ्यास पुस्तिका वितरण, ‘एकले पाँच जनालाई पढाउने’ र ‘घरमे स्कुल, अभिभावक बनु शिक्षक’ अभियान सञ्चालन गरिएको छ ।

त्यस्तै, आमा समूह, छात्रा सञ्जाल, बालक्लब गठन गरेर सामाजिक र आर्थिक रूपमा पछाडि परेर विद्यालय जान नपाएका बालबालिकालाई विद्यालयसम्म पु¥याउने, विद्यालयमा पनि निरन्तर अनुगमन र विभिन्न शैक्षिक गतिविधि गरिँदै आएको छ ।

यसैगरी, गणेशमान चारनाथ नगरपालिकामा २५ प्रतिशत मुस्लिम समुदायका बालबालिका अझै पनि विद्यालय बाहिर रहेको छ ।
आसमान नेपालद्वारा सञ्चालित ‘निक शिक्षा दिअ’ परियोजना संयोजक शशी साहका अनुसार नगरपालिका क्षेत्रभित्र चार वटा मदरसा सञ्चालनमा छन् । जसमध्ये दुई वटा नेपाल सरकारद्वारा मान्यता प्राप्त छन् ।

एउटा कक्षा एक सम्म र अर्कोमा तीन कक्षासम्मको पढाइ हुन्छ । ति मदरसामा उर्दू र कुरानसहित नेपाली, अंग्रेजी, गणीतलगायत आधारभूत शिक्षा पढाइन्छ । मदरसाको अध्ययन पुरा भएपछि ५० प्रतिशत छात्रछात्रा मात्रै नगरपालिका क्षेत्रमा सञ्चालित आधारभूत तथा माध्यमिक विद्यालयमा भर्ना हुन्छ । २५ प्रतिशत छात्रछात्रा अन्य ठाउँमा सञ्चालित मदरसामा पठनपाठन गर्न जान्छन भने बाँकीको २५ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको छ, संयोजक साहले जानकारी दिए ।

‘निक शिक्षा दिअ’ परियोजनाअन्तर्गत विभिन्न सचेतना मुलक कार्यक्रमको प्रतिफलस्वरुप मुस्लिम समुदायका ५० बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराउन सफल भएको बताउँदै संयोजक साहले मुस्लिम समुदायमा थप प्रोत्साहन गर्ने खालको थप सचेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको बताए ।