ढल्केवरमा विद्युतीय सवारी चार्ज गर्ने सुविधा

|

विजयकुमार साह

धनुषाको ढल्केवरमा चार्जिङ स्टेश्न राखेपछि पूर्व–पश्चिम राजमार्गमा गुड्ने विद्युतीय सवारीसाधनलाई चार्ज गर्न सजिलो भएको छ ।

गत फागुन महिनामा एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ढल्केवरमा पहिलो पटक चार्जिङ स्टेशन राखेको छ । यहाँस्थित कोमल होटलमा राखिएको उक्त चार्जर ३२ किलोवाट क्षमताको डिसी र सात किलोवाटको क्षमताको एसी चार्जर छ ।

पूर्व–पश्चिम राजमार्ग खण्डमा ढल्केवरदेखि पश्चिममा दुइ सयभन्दाभन्दा बढी किलोमिटर टाढा चितवन र त्यति नै दुरीमा रहेको पूर्वको बिराटनगरमा चार्जिङ स्टेशन राखिएको छ ।

ढल्केवरदेखि १० किलोमिटर पश्चिम महोत्तरीको बर्दिवासमा डिसी चार्जर राखिएको भएपनि अर्थिङ्गको समस्याका कारण बेला–बेला बिग्रिरहने चालकहरु बताउँछन् ।

यस्तै, बर्दिवास–काठमाडौं विपी राजमार्गको मुलकोटमा चार्जिङ स्टेशन राखिएको छ । यो बीचमा कतै पनि चार्जिङ स्टेशन राखिएको छैन ।
होटल सञ्चालक रामप्रमोद साहले यहाँस्थित चार्जिङ स्टेशनमा दैनिक २५ देखि ३० वटासम्म गाडी चार्ज हुने गरेको बताउनुभयो । उहाँले प्रति युनिट १५ रुपियाँको दरले चार्जिङ शुल्क लिने गरिएको बताउँनुहुँदै एक पटकमा दुई वटा गाडीसम्म चार्ज गर्न सक्ने क्षमताको स्टेशन रहेको जानकारी दिनुभयो ।

यहाँ लाइन जाँदा पनि विकल्पका रुपमा जेनेरेटर पनि जडान गरिएको छ । देशकै सबैभन्दा ठूलो विद्युत प्रशारण लाइन नजिकै रहेकाले नियमित तथा सन्तुलित विद्युत प्रवाह भइरहन्छ । जसले गर्दा अरु ठाउँ जस्तो यहाँ भोल्टेज कम बढी र छिन–छिनमै कट्ने समस्या नरहेको होटल सञ्चालक साहले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गमा निजी मोटरसाइक र कार गरी दैनिक हजारौंको सङ्ख्यामा विद्युतीय सवारी गुड्ने गरेको छ ।

यहाँ विद्युतीय सवारी चार्ज गर्ने सुविधा उपलब्ध भएपछि धेरैलाई राहत भएको विद्युतीय सवारीका धनी मदन श्रेष्ठले बताउनुभयो ।

काठमाडौंबाट बिराटनगर अथवा बिराटनगरबाट काठमाडौं जानुपर्दा कहाँ गएर चार्ज सकिन्छ र आपतमा परिन्छ भन्ने तनाव भइरहन्थ्यो । तर, बीच सेन्टर ढल्केवरमा चार्जिङ स्टेशन राखेपछि विद्युतीय सवारी चार्ज गर्ने सुविधा पुगेको उहाँको भनाइ छ । गोरखापत्र अनलाइनबाट