बन्दुकसहित तीन जना भारतीय नागरिक पक्राउ

|

ढल्केवर, धनुषा

अवैध बन्दुकसहित तीन जना भारतीय नागरिकलाई धनुषाका सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।

सोमबार भारत बिहार राज्यका मुज्जफरपुर साहेबगञ्जका २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्जवलकुमार र २६ वर्षीय सञ्जयकुमारलाई अवैध बन्दुकसहित बिदेश नगरपालिका–१ महिनाथपुरबाट सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् ।

उनीहरु भारतीय नम्बरका बीआर ०६ एपी ३००८ मारुती सुजुकी कारमा सवार भएर जनकपुरतर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

उनीहरुको साथबाट मेड इन यूएसए लेखिएको ७.६२ एमएमको एक राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीले जानकारी दिए । कारको अगाडिपट्टीको बायाँ साइडको सिटमुनी उक्त पेस्तोल राखेको अवस्थामा बरामद भएको उनले बताए ।

हतियारसहित पक्राउ परेकाहरुलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।